काठमाण्डौ । भोलि अर्थात बुधबारदेखि काठमाण्डौ उपत्यकामा बैंकहरुले २५ प्रतिशत मात्र शाखा खोल्न पाउने भएका छन् । 

काठमाण्डौ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई बढाएर बैशाख २९ गतेसम्म पुर्याउने निर्णय गर्दै बैंक तथा वित्तीय संस्थाको हकमा समेत कडाई गर्ने भन्दै आदेश जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, भक्तपुर र ललितपुरको नयाँ आदेशमा काठमाण्डौ उपत्यकाभित्र बैंक तथा वित्तीय संस्थाहरुले २५ प्रतिशत शाखा कार्यालय मात्र खोल्न पाउने भनिएको छ । 

यस्तै, बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयहरुले २० प्रतिशत जनशक्ति(कर्मचारी) प्रयोग गरी कार्य संचालन गर्नुपर्नेछ । त्यसको विवरण दैनिक रुपमा राष्ट्रबैंक र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने आदेशमा उल्लेख छ । 

यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि सीमित सवारी पास मात्र उपलब्ध गराइने आदेशमा उल्लेख छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार बैंकको केन्द्रीय कार्यालयको हकमा एक चार पांग्रे र एक दुई पांग्रे सवारीको मात्र पास उपलब्ध गराइनेछ ।

सार्वजनिक संस्थान र संस्थाको हकमा सम्बन्धित प्रमुखले जारी गरेको सवारी पास र परिचयपत्रको आधारमा मात्रै आवतजावत गर्न दिइनेछ।

अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरु एक चौथाई कर्मचारी मात्र उपस्थित हुने गरी संचालन गर्ने व्यवस्था मिलाउन आदेश दिइएको छ । 

यस्तै, जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक खाद्य सामाग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर(खाद्य सामाग्री मात्र बिक्री गर्ने प्रयोजनका लागि) बिहान ९ बजेसम्म मात्र खुल्ला गर्ने र स्थानीय ढुवानीको हकमा भने बिहान १० बजेसम्म मात्र गर्ने आदेशमा उल्लेख छ । 

काठमाण्डौ जिल्ला प्रशासनले जारी गरेको नयाँ आदेश यस्तो छः