काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको २९.३८ प्रतिशत हकप्रद सेयरमा भोलि बिहीबारदेखि आवेदन खुला हुने भएको छ। 

कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ १ः०.२९३८ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गर्नेछ। 

कम्पनीले यो हकप्रद दोस्रोपटक निष्कासन गर्न लागेको हो। यो हकप्रदलाई धितोपत्र बोर्डले गत वैशाख २९ गते निष्कासन अनुमति दिएको थियो। 

कम्पनीले हकप्रद प्रयोजनार्थ गत वैशाख २९ गते बुक क्लोज गरेको छ। जसको अर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटलको काठमाण्डौ हात्तीसारस्थित कार्यालय, काठमाण्डौ थापाथलीस्थित अपी पावरको कार्यालय, मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ। 

यस हकप्रदमा लगानीकर्ताहरुले असार ९ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। 

यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । 

यसअघि कम्पनीले १ः०.४७ को अनुपातमा गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म हकप्रद निष्कासन गरी बिक्री गरेको थियो।