काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले भोलिसाउन १४ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ।

यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्। 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ। 

यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो। 

यो कम्पनीको आईपीओमा पनि सर्वसाधारणले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ। किनकि यसअघिको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो। यसमा झन्डै २१ लाख आवेदकबाट सेयर माग भएको थियो।

यो हिसाबले मैलुङ खोलाको आईपीओमा पनि २१ लाख बढी नै आवेदन पर्ने देखिन्छ। जसअनुसार यो आईपीओ गोलाप्रथाबाट १०/१० कित्ताका दरले बाँडफाँड हुने देखिन्छ। 

यो पाईपीओमा सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्तामा मात्र आवेदन दिन पाउने हुँदा ६८ हजार ४७४ आवेदकले १० कित्ताका दरले र तिनै आवेदनकमध्ये १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ६ आवेदकले थप १/१ कित्ता पाउनेछन्।