काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेका मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर भोलि सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज आइतबार यी दुवै कम्पनीले सेयर सूचीकरण सम्झौता भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउने गर्छ। 

नेप्सेमा मनकामना स्मार्टको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ११ हजार ५०० कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको ८ लाख २२ हजार ५०० कित्ता र सर्वसाधारणको ३ लाख ८९ हजार कित्ता रहेका छन्।

यो लघुवित्तलाई नेप्सेले एमकेएलबी कारोबार संकेत प्रदान गरेको छ भने पहिलो करोबारका लागि न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यो लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ निष्कासन गरेको छ। आईपीओ बाँडफाँड असार २८ गते गरिएको थियो।

यसैगरी युनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेका छन्।

यो कम्पनीलाई नेप्सेले यूएलआई कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।

युनियन लाइफको आईपीओ गत असार ३१ गते बाँडफाँड गरिएको थियो। यो कम्पनीले गत असार २४ गतेदेखि असार २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।