काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि फागुन २५ गतेदेखि १ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ। 

मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो।

यस्ता छन् विशेषताहरु

क. सिक्काको अग्र भागमा

  • सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहेको।
  • ६४ थोप्लाहरुको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको।
  • सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको।
  • नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको।

ख. सिक्काको पृष्ठ भागमा

  • सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहेको।
  • ८ थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र सो आकृतिको मुनि अंग्रेजीमा SAGARMATHA NEPALलेखिएको। 
  • सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको।