काठमाण्डौ । संभवत भोलि मुलुकले नयाँ अर्थमन्त्री पाउनेछ । 

भोलि अर्थात मंगलबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक बोलाइएको छ । यो बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिनेछ । त्यसो भयो भने भोलि साँझसम्म नै तीन मन्त्रीको नियुक्ति हुनेछ । 

भोलि अर्थमन्त्रीको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र विष्णु पौडेल नियुक्त हुने अधिक संभावना छ । प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने निर्णयको तीव्र विरोधमा उत्रिएका बुटवलबासीको आक्रोशलाई मत्थर पार्न पनि बुटवलका नेता विष्णु पौडेललाई अर्थमन्त्री बनाउन लागिएको हो । उनी पूर्वअर्थमन्त्री समेत हुन् । 

यस्तै, रिक्त रहेकामध्ये सूचना तथा संचारमन्त्रालयको जिम्मेवारीमा पूर्व माओवादी नेता जनार्दन शर्मा आउनेछन् । 

सहरी विकासमन्त्री बन्नका लागि तयार हुन सुरेन्द्र पाण्डेलाई खबर गरिएको छ । तर, उनले अर्थमन्त्रीबाहेकका मन्त्रालयमा आफू नजाने जवाफ दिएका छन् । 

प्रधानमन्त्री र प्रचण्डबीच भोलिको सचिवालय बैठकबाट रिक्त मन्त्रालयमा नयाँ मन्त्री ल्याउने र बाँकी मन्त्रीहरुको विदा वा निरन्तरताको विषयमा पुनः छलफल गरी अगाडि बढ्ने सहमति बनेको स्रोतहरुले दाबी गरेका छन् ।