– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। बजार ३ दिन घट्यो भने १ दिन बढ्यो।
यो साताबाट आइतबार पनि सार्वजनिक बिदा दिइएको छ भने सोमबार बुद्धजयन्तीका अवसरमा बिदा दिइएको थियो। बजार मंगलबार झन्डै ८५ अंकले घटेको थियो भने बुधबार करिब ९ अंकले बढेको थियो। बिहीबार पुनः २३.५१ अंकले घटेको बजारमा शुक्रबार पनि १५.८२ अंकको गिरावट आएको छ।
समग्रमा यो साता सेयर बजारमा ११५.३३ अंकको गिरावट आएको छ। कारोबार पनि साताभरमा ४ अर्ब ९५ करोड ९६ लाख रुपैयाँबराबरको मात्रै भएको छ।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
सेयर बजारको पछिल्लो अवस्थालाई सन् २०१९ को नोभेम्बरदेखि हालसम्म हेर्दा ११०० को विन्दुदेखि ३२०० विन्दुसम्म बढेर वेभ १ देखि ५ सम्मको वेभ बनाएको देखिन्छ। त्यसपछिको करेक्सनमा ए, बी र सीको चक्र पूरा गर्दै वेभ ‘ए’ मा बजार २२७० को विन्दुसम्म आएको देखिन्छ भने वेभ ‘बी’ मा बढोत्तरीका साथ २९८२ सम्म पुगेको देखिन्छ।
इलिअट वेभको ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्ने हो भने अहिले चलेको करेक्सन (२९८२–१०००) लगभग १९८२ सम्म आउन सक्ने देखिन्छ। यसको थप पुष्टि फिवोनासीमार्फत पनि हुन्छ। यो भनेको फिवोनासीमार्फत हेर्दा पनि यो ०.६१ प्रतिशतको करेक्सन हुन आउँछ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।
अब बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २७४५ सम्म, ०.३८ प्रतिशतको टेवामा २४३६ सम्म, ०.५ प्रतिशतको टेवामा २१९२ सम्म र ०.६१ प्रतिशतको टेवामा १९६० सम्म आउन सक्छ।
एमएसीडी लाइनका आधार
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ।
यो लाइनलाई आधार मान्ने हो भने एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न थालेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल भर्खरै बन्दै गरेको देखिन्छ र हिस्टोग्राम पोजेटिभ छन् तर छोटा–छोटा हुँदै गएका देखिन्छन्। (हेर्नुहोस् कालो एरो)
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
यो औजारअन्तर्गत बजारको अवस्थालाई नियाल्दा मूल्यरेखाले पुनः एकपटक मध्यब्यान्डमा टेस्ट गरेर तल झरेको र तल्लो ब्यान्डलाई छुन आउन लगेको देखिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ। बजारको हालको हालको आरएसआई ३६ को तहमा घट्दो क्रममा रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु २८ को तहमा पुगेपछि बजार उकालो लागेको थियो भने उच्चतम विन्दु ४८ को तहमा पुगेपछि ओरालो लागेको थियो। यसलाई आधार मान्दा बजारमा अझै केही समय करेक्सन हुन सक्ने देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २३९६
घटेमा सपोर्ट
निष्कर्ष
अघिल्लो साता १०० अंकभन्दा बढीले बढेको बजार यो साता लगभग त्यत्ति नै अंकले घटेको छ। प्राविधिक रुपमा बजार एमएसीडीको दैनिक चार्टअन्तर्गत बियरिस क्रसओभर नभइसकेको तर हुने सम्भावना देखिन्छ। हिस्टोग्राम पोजेटिभ भए पनि छोटा–छोटा भएका देखिन्छन्।
बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले मध्यब्यान्डमा प्रतिरोध सामाना गरेर तल्लो ब्यान्डमा टेस्ट गर्न आउन थालेको तथा आरएसआई पनि ३७ को तहमा देखिन्छ। आरएसआई पनि एकपटक ३० भन्दा तलको ओभर सोल्ड जोनमा छुन आउन सक्ने देखिन्छ।
भोलुमका आधारमा भन्नुपर्दा आज निकै ड्राइ भएका कारण बजारले कुनै पनि समयमा यूटर्न लिन सक्ने सम्भवाना पनि देखिन्छ। किनकि बजारमा विगतमा भोलुम निकै घटेपछि यूटर्न लिएको थुप्रै आधार देखिन्छन्। यो हिसाबले यदि आगामी साता यूटर्न लिएमा कुनै अनौठो भने हुने छैन।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका भने होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
6 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago