काठमाण्डौ । विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यहरु प्रयोग गरी यस नर्भिक इन्टरनेशनल हस्पिटलका बारेमा कुत्सित मनशाय राखी भइरहेको तथ्यहीन प्रचारप्रसारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कोभिड १९ विरुद्धको  लडाइँमा अग्रणी भूमिका निर्वाह गरिरहेको नर्भिक टिमको मनोबल गिराउने योजनाअनुसार भइरहेका गतिविधिप्रति हस्पिटलले गम्भीर चासो र चिन्ता रहेको बताएको छ । कहिले नर्भिक अस्पतालले कामदार तथा कर्मचारीलाई निकालेको, कहिले अतिरिक्त शुल्क लिएको, कहिले कर्मचारीलाई सरकारी स्केलअनुसार तलब नदिएको भन्नेजस्ता भ्रमपूर्ण प्रचारप्रसार गर्ने त कहिले नर्भिककै चिकित्सक वा कर्मचारीलाई केन्द्रित गरी मनोबल गिराउने उद्देश्यले भइरहेका प्रचारप्रसार तथ्यहीन, कपोकल्पित र गलत रहेको व्यहोरा अनुरोध गर्न चाहन्छौं,हस्टिलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिडको विषम परिस्थितिमा पनि गर्दै आएको सेवालाई ढाकछोप हुने गरी, कोभिडविरुद्धको सामूहिक लडाइँमा दिएको बलियो साथलाई समेत नजरअन्दाज गर्दै, हाम्रो उच्च व्यवस्थापनले गरेको योगदानलाई समेत बिर्सिएर, अस्पतालले यस्तो अवस्थामा पनि प्रवाह गर्दै आएको विश्व स्तरीय स्वास्थ्य सेवाको विषयमा बोल्न नसक्नेहरुले योजनाबद्ध ढंगले हस्टिलमाथि प्रहार गरिरहेका र त्यस्ता गिरोहहरुले विभिन्न सरकारी निकायलाई समेत प्रभावित बनाई हस्टिललाई विचलित बनाउने उद्देश्य राखी नियोजित आरोप लगाउने काम भइरहेको हस्टिलको ठहर छ । नर्भिक यी सारा भ्रमपूर्ण प्रचारप्रसार र बद्नाम बनाउने प्रयासहरुप्रति खण्डन गरेको जनाएको छ । 

यस्ता प्रयासहरुबाट नर्भिक, यहाँको टिम र हाम्रा कुनै पनि सदस्यहरु हतोत्साही नहुने  अनि कमजोर धरातलमा टेकेर गरिएका गलत प्रचारप्रसारले नर्भिकलाई कर्तव्य निर्वाहबाट च्यूत नगराउने हस्टिलले जिकिर गरेको छ । हस्पिटलको उत्साह कुनै पनि कुत्सित प्रयासका कारण कम नहुने उल्लेख गर्दै कोभिड संक्रमण तीव्र बनिरहेकै बेला भइरहेका यस्ता नियोजित प्रहारहरुले हस्पिटलको सेवाभाव अलिकति पनि कमी आउन नदिने बताइएको छ । 

नर्भिकले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निश्कासन गरेको छैन । ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निश्कासन गरिएको भन्ने लगायतका व्यहोरामा कुनै सत्यता छैन । साथै, यस हस्पिटलको आन्तरिक कर्मचारी व्यवस्थापन विनियम बमोजिम उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीहरुलाई सेवानिवृत गरिएको विषयलाई समेत बढाईचढाई गरी भ्रम छर्ने काम भएको छ, यसको हामी खेद प्रकट गर्दछौ,नर्भिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नर्भिक हस्पिटलले यसअघि सम्पूर्ण कर्मचारीहरुको तलबसुविधा व्यक्तिगत खाता लक्ष्मी बैंकमा खोली जम्मा गरिँदै आएकोमा आगामी आश्विन महिनादेखि लक्ष्मी बैंकको सट्टामा युनाइटेड फाइनान्स कम्पनीमा खाता खोली कर्मचारीहरुको तलब जम्मा गरिदिने यस हस्पिटल व्यवस्थापन समितिको निर्णयअनुसार सुरु गर्न लागिएको विषयलाई समेत बढाईचढाई प्रचार गरिएकोमो आपत्ति जनाएको छ । युनाइटेड फाइनान्स कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा खातावालालाई राम्रो सेवा सुविधाका अतिरिक्त आकर्षक बीमा सुविधा समेत प्रदान गर्ने भएकै कारण सोही संस्थामा कर्मचारीहरुको तलब बचत खाता सञ्चालनको निर्णय भएको बताएको छ । यसमा कुनै पनि कर्मचारीको थप आर्थिक भार नपर्ने साथै यस योजना लागू गर्नुमा नर्भिक र यस हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीको कुनै पनि व्यक्तिगत स्वार्थ नरहेको जानकारी दिएको छ ।

जहाँसम्म कर्मचारीको तलव काटेको भन्ने अर्को झुठ्ठा आरोप छ । सुरु सुरुको महिनामा कोरोनाको कहर बढ्दै गएकोमा लामो लकडाउनको अवस्थामा अस्पतालको व्यस्तता ज्यादै कम भएकोले श्रम ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार नै साप्ताहिक रुपमा ४८ घण्टाको सट्टा ३६ घण्टा काम गराएर सोहीअनुसार तलब दिइएको थियो । लकडाउन हटी हस्पिटलको व्यस्तता बढेपछि भाद्रदेखि फेरी सबै कर्मचारीहरुलाई साप्ताहिक ४८ घण्टाको काम लगाई सोही आधारमा तलब दिइँदै आएको छ,नर्भिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कोभिडविरुद्धको लडाईमा सामूहिक प्रयास र सहकार्यको खाँचो भएको र कोभिडविरुद्धको लडाईका फ्रन्टलाइनर स्वास्थ्यकर्मीको मनोबल गिर्ने गरी कुनै पनि भ्रम नफैलाइदिन नर्भिकले आग्रह गरेको छ ।