काठमाण्डौ । नेपालमा धेरै कर्मचारीहरु श्रीमतीको दबाबमा सामाजिक रवाफ देखाउन पैसा कमाउन खोज्दा भ्रष्टाचारको दल दलमा फस्ने गरेका छन् ।

श्रीमानलाई  भ्रष्टाचार गर्न उकास्ने सरकारी कर्मचारीका त्यस्ता श्रीमतीहरु समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्न थालेका छन् ।

अख्तियारले पछिल्लो अकुत सम्पती कमाउने नेता तथा कर्मचारीहरुमाथिको छानबिनलाई तिव्रता दिएको छ । पछिल्लो  एक सातामा तीन जना सरकारी कर्मचारीविरुद्ध अख्तियारले अकुत सम्पती कमाएको आरोपमा मुद्दा दायर गरेको छ । तीनै वटा मुद्दामा भ्रष्टाचारको आरोप लागेका  कर्मचारीलाई मात्र नभई उनीहरुकाश्रीमतीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । स्रोत नखुलेको उनीहरुको सम्पती श्रीमतीको नाममा पाइएकाले श्रीमतीहरु समेत कारबाहीको भागिदार भएका हुन् ।

अख्तियारले गत २५ माघमा सगरमाथा वन विकास परियोजना सर्लाहीका कर्मचारी सुरेश सिंहलाई अकूत सम्पत्ति कमाएको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिंहको एक करोड ३६ लाख ७३ हजार ५ सय ६९ रुपैयाँ बराबर सम्पतीको स्रोत नखुलेपछि मुद्दा दायर गरेको थियो ।   उनकी श्रीमती निर्मलादेवी सिंहविरुद्ध पनि सँगै मुद्दा दायर भएको छ । त्यसको ३ दिनपछि नेपाल बिद्यतु प्राधिकरणका अवकाशप्राप्त सहायक निर्देशक धुव्र कुमार उप्रेतीविरुद्ध अख्तियारले अकुत सम्पती कमाएको अभियोगमा मुद्दा दायर गर्‍यो । धुव्र कुमार उप्रेतीको सम्पतीमध्ये ४ करोड १८ लाख १० हजार ८ सय ९ रुपैयाँको स्रोत खुलेन । उप्रेतीको अकुत सम्पतीको भागिदार उनको श्रीमती सन्धा लामिछाने समेत भइन् । दुवै जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्‍यो ।

त्यस्तै आइतबार चितवनस्थित क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठ अकुत सम्पती अख्तियारको फन्दामा परे । श्रेष्ठको एक करोड ६७ लाख ५७ हजार एक सय १३ रुपैयाँ सम्पतीको स्रोत नखुलेको आयोगले जनाएको छ ।  भक्तमानकी श्रीमती सिलुलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । कर्मचारीहरुले श्रीमतीको नाममा सम्पती जोड्ने प्रवृत्ती देखिएकाले भ्रष्टाचार निवारण ऐनअनुसार श्रीमतीहरुलाई पनि मुद्दा चलाउने गरेको हो ।

अझै धेरै कर्मचारीहरुले परिवार बाहिरका आफन्तका नाममा सम्पती लुकाउने गरेका छन् । पछिल्लो समय अख्तियारले ठुलो संख्यामा उच्च पदस्थ कर्मचारीहरुको बैंक खाता र लकर रोक्का राखेर अकुती सम्पती छानबिनलाई तिव्रता दिएको छ । जसमा ६ जना सचिवहरु समेत छन् । अख्तियारले ठुला कर्मचारीलाई कारबाही नगरेको र अकुत सम्पतीको छानबिन गर्न नसकेको भनेर आलोचना गर्नेहरुको समेत आयोगका पछिल्लो कामले मुख बन्द गराएको छ भने भ्रष्ट कर्मचारीहरुको भने सात्तो गएको छ ।

-दृष्टिबाट