काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफूले लगानीकर्तालाई बोलेर होइन गरेर देखाउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज काठमाण्डौमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘मैले सेबोनमा आएको पहिलो दिनदेखि नै लगानीकर्ताको हकहितलाई ध्यानमा राखेर काम गरिरहेको छु’, हमालले भने, ‘त्यसैले मैले लगानीकर्तालाई बोलेर होइन गरेर देखाउँछु।’

हमालले लगानीकर्ता विश्वासले मात्र सबैको औचित्य पुष्टि हुने बताए। ‘पहिला लगानीकर्ताले विश्वास गर्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘लगानीकर्ताले विश्वास गरेमात्रै सेबोन, नेप्सेलगायत सबैको औचित्य पुष्टि हुन्छ।’

हमालले २०७९ भित्रै कमोडिटिज एक्सचेन्ज सञ्चालनमा आउने घोषणा पनि गरे। ‘क्यापिटल मार्केट इन्स्टिच्युट पनि यही वर्षभित्रै सञ्चालनमा ल्याउने सपना छ’, उनले भने।

मार्केट पार्टिसिपेन्ट्सको की पर्सन सर्टिफिकेसन आवश्यक रहेको पनि हमालले बताए। 

अध्यक्ष हमालले टीका लगाएर ब्रोकर लाइसेन्स वितरण गर्ने सिस्टम बन्द हुने स्पष्ट पारे। ‘योग्यले समान अवसर पाउनेछन्’, उनले भने।

ब्रोकर लाइसेन्सलाई हाई थ्रेसहोल्डमा राख्नुको मुख्य कारण चुक्तापुँजी नै रहेको उनले बताए। ‘नेप्सेको प्रणालीले पनि १७० वटाभन्दा बढी ब्रोकर धान्दैन’, उनले भने।