काठमाण्डौ । एसडी एक्सपो मिडियाको आयोजनामा आउँदो मंसिर तेस्रो साताबाट ईभी नेपाल एक्सपो काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ। 

यो विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरुको नेपालमा हुन लागेको सबैभन्दा ठूलो प्रदर्शनी हुने आयोजकको दाबी छ। एसडी एक्स्पो मिडियाका प्रमुख आयोजक रहेको यो एस्पोको सहआयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ।  

मंसिर १६, १७ र १८ गतेसम्म चल्ने प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क, कार रिप,  नेपाल अटो ट्रेडर डट कम र इभी ड्राइभ द फिउचरले सहकार्य गरेका छन्। 

विगत दुई वर्षदेखि कोभिड–१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाइ भएको हो। २०२० मा हुनुपर्ने यो प्रदर्शनी यसपालि हुँदैछ। 

यस कार्यक्रमको पहिलो उद्देश्य नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढंगले व्यापार सञ्चालनमा टेवा पुर्याउनु हो। यसका साथै प्रदर्शनीमा पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गरिनेछ। 

पछिल्ला दशकहरुमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ। यसका साथै उल्लेखनीय मात्रमा हाइड्रोपावरहरु पनि सञ्चालनमा आएका छन्। यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्युतीय यातायातमा सारेको देखिन्छ। 

यस प्रदर्शनी विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्री प्रदर्शनमा राखिनेछ। यस बृहत प्रदर्शनी १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरु तथा ५०० भन्दा बढी विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ। 

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ शोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ता, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्तालगायत सबैका लागि यो साझा चौतारी हुनेछ। यस बृहत प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्तालाई पनि प्रोत्साहित गर्नेछ। विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरु पनि प्रदर्शनीमा देख्न पाइनेछ।