काठमाण्डौ । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थिर राख्ने सहमति गरेकै दिन विकास बैंकहरुले ब्याजदर घटाएका छन्।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुक्तिनाथ विकास विकास बैंकका सीईओ प्रद्युम्न पोखरेलले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बताए। उनका अनुसार विकास बैंकहरुले कात्तिकमा कायम अधिकतम ब्याजदरमा ०.१५ प्रतिशतले घटाएर मंसिरमा लागू गर्ने निर्णय भएको छ।

राष्ट्रियस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १३ प्रतिशत, संस्थागततर्फ ११ र रेमिट्यान्समा १४ प्रतिशत ब्याज दिँदै आएका छन्। मंसिरमा भने राष्ट्रिस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत दिनेछन्। 

यसैगरी मंसिरमा क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतममा १३.१० प्रतिशतदेखि १३.३५ प्रतिशतसम्म ब्याजदर कायम गर्नेछन्। कात्तिकमा क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा १३.२५ प्रतिशतदेखि १३.५० प्रतिशतसम्म ब्याज दिँदै आएका छन्। 

विकास बैंकहरुले मंसिरमा मुद्दति निक्षेपको ब्याजदर घटाएसँगै बचत खाताको ब्याजदर पनि घट्ने भएको छ। ‘मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ५ प्रतिशतको फरक पारेर विकास बैंकहरुले बचत खाताको ब्याजदर कायम गरिनेछ’, अध्यक्ष पोखरेलले भने। 

तरलता सहज हुँदै जानु र विकास बैंकहरुको औसत सीडी रेसियो ८६ प्रतिशतको हाराहारीमा रहेकोले निक्षेपको ब्याजदर घटाउने निर्णय गरिएको अध्यक्ष पोखरेलले बताए। 

यसैबीच नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले पनि मंसिरमा फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउने निर्णय गरेको बताए। ‘कात्तिकमा कायम मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.१५ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म ब्याजदर घटाउने निर्णय भएको छ’, उनले भने।