काठमाण्डौ । मंसिर मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल २ खर्ब ११ अर्ब ८ करोड १२ लाख १ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा उपभोग गरेका हुन्। कुल २ खर्ब ४१ अर्ब ८३ करोड सहुलियतपूर्ण कर्जामध्ये २ खर्ब ११ अर्ब ८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत स्वीकृत गरिसकिएको केन्द्रीय बैंकले जनाएको छ। यसका लागि हालसम्म ११ अर्ब १५ करोड ८० लाख रुपैयाँ बढी ब्याज अनुदानमै खर्च गरिएको राष्ट्र बैंकको भनाइ छ। 

सहुलियतपूर्ण कर्जा वाणिज्य बैंकहरुबाट १ खर्ब ८२ अर्ब ४२ करोड ८३ लाख ९४ हजार रुपैयाँ र विकास बैंकहरुबाट २५ अर्ब ८२ करोड २० लाख २९ हजार रुपैयाँ, फाइनान्स कम्पनीबाट २ अर्ब ७३ करोड ७३ लाख ९३ हजार रुपैयाँ र लघुवित्त संस्थाहरुबाट ९ करोड ३३ लाख ८५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्वीकृत गरिएको राष्ट्र बैंकले जनाएको छ।

मुख्यगरी भिन्नभिन्न १० कर्जा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। जसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा बिना धितो र धितोसहित गरी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत कुल १ खर्ब ३३ अर्ब १८ करोड ८३ लाख ३७ हजार स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ। जसमा २ अर्ब ५५ करोड ७५ लाख २१ हजार रुपैयाँ बिनाधितो र १ खर्ब ३० अर्ब ६३ करोड ८ लाख १६ हजार रुपैयाँ धितोमा कर्जा प्रवाह भएको छ।

अन्य शीर्षकमा स्वीकृत कर्जा यस्ता छन्– 

  • शिक्षित युवा स्वरोजगार कर्जा– ६ करोड ३७ लाख ८८ हजार रुपैयाँ
  • विदेशबाट फर्केका युवा परियोजना कर्जा– ६४ करोड ७१ लाख ६ हजार रुपैयाँ
  • महिला उद्यमशील कर्जा– ७४ अर्ब २४ करोड ८८ लाख ६० हजार रुपैयाँ 
  • दलित समुदाय व्यवसाय विकास कर्जा– ६३ करोड ६० लाख २३ हजार रुपैयाँ
  • उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा – ३ करोड ३७ लाख ८२ हजार रुपैया
  • भूकम्पपीडितको निजी आवास निर्माण कर्जा –४ करोड २१ लाख ६१ हजार रुपैयाँ
  • कपडा उद्योग सञ्चालन कर्जा– २ अर्ब २१ करोड ३० लाख ४९ हजार रुपैयाँ
  • प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि कर्जा– ३ लाख १६ हजार रुपैयाँ 
  • युवा वर्ग स्वरोजगार कर्जा– ७७ लाख ७९ हजार रुपैयाँ