काठमाण्डौ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनासँगै प्रारम्भिक मतपरिणामहरु आउन थालेको छ । 

विभिन्न क्षेत्रमा भइरहेका मतगणनाको प्रारम्भिक नतिजामा एमाले र कांग्रेसबीच टक्कर देखिएको छ । 

एमाले र कांग्रेसले केही स्थानबाट विजयी सुरुवात गरिसकेका छन् । कतिपय स्थानमा रोचक भिडन्त देखिएको छ । 

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए । त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत ल्याइन् ।

यस्तै, मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले ३२० मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत पाइन् ।

मनाङकै नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् । लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो ।

खाँदबारीमा कांग्रेसको अग्रता
संखुवासभाको खाँदबारी नगरपालिकामा कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । ३०० मत गन्दा प्रमुखमा महेश थपलियाले २०३ मत पाएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ७६ मत ल्याएका छन् । 

उपप्रमुखमा एमालेका महेश्वरा श्रेष्ठ र माओवादीका दिब्यराज बरालको बराबर ११८ ११८ मत आएको छ । मतगणना जारी छ । 

बनेपामा एमालेको अग्रता
काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट मेयर उम्मेदवार रत्नकुश रञ्जितकारले १६३ मतसहित अग्रता लिएका हुन् । उनलाई गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार शान्ति रत्न शाक्यले १३९ मतसहित पछ्याइरहेका छन्। उपमेयरमा पनि एमालेकी बिमला सापकोटा दाहालले १६२ मतसहित अग्रता लिएकी छन्। गठबन्धनका उम्मेद्वार रघुबर चौ प्रधानले १०९ मत ल्याएका छन् । 

बुटवलमा रोचक भिडन्त
एमालेको लालकिल्ला मानिने बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा रोचक अवस्था देखिएको छ । वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका छन् । दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन रहेका छन् । उनले ४५ मत पाएका छन् । एमालेका उम्मेद्वार बाबुराम भट्टराईले भने ३३ मत पाएका छन् । 

भीमफेदीमा माओवादीको अग्रता
मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत ल्याएका छन् । एमालेकी पार्वती रानाले ३१५ मत ल्याएकी छन् ।

बुढानीलकण्ठमा एमालेको अग्रता
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारी ७ सय ७८ मतसहित अगाडि बढेका हुन् । नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन्। उपमेयरमा पनि नेकपा एमालेकी अनिता लामाले ८ सय १२ मतसहित अगाडि बढेकी छिन् भने कांग्रेसकी रमिला वाग्लेले ४५३ मत पाएकी छिन् । 

सो नगरपालिकाको वडा नं १ को वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानल नै विजयी भएको छ।

दाङको गढवामा एमालेको अग्रता
उता, दाङको गढवामा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ। गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारको ४७, माओवादी केन्द्रको ४२ र कांग्रेसको ८ मत आएको छ। वडा नम्बर ८ को अध्यक्षमा एमालेका उम्मेदवारको ५५ आएको छ भने माओवादीका उम्मेदवारले ४३ मत ल्याएका छन्।

कैलालीको बर्दगोरियामा एमाले अग्रता
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ। त्यहाँ १०० मत गणना भएको छ । जसअनुसार एमालेका कर्ण कुँवरले ५० मतसहित सुरूआती अग्रता लिएका छन्। कांग्रेसका शेरबहादुर कठरियाले २५ मतसहित पछ्याइरहेका छन् । 

यस्तै उपाध्यक्षमा माओवादीका गणेश गिरीले ४७ मत र एमालेकी इन्दू कठरियाले ३० मत ल्याएका छन् । 

देवदहमा कांग्रेसको अग्रता
रूपन्देहीको देवदहमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन् भने एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन् । 

उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले ५८ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन्।

कपिलवस्तुमा जसपाको अग्रता
कपिलवस्तु नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका सुदीप पौडेलले अग्रता लिएका छन् । त्यहाँ ४ सय मतगणना हुँदा उनले २०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेश गुप्ताले ९० मत र कांग्रेसका किरण सिंहले ५२ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा पनि जनता समाजवादीकी सुनिता गुप्ताले ११५ मतसहित अग्रता लिएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलासा पाण्डे गैरेले १०१ मत तथा कांग्रेसकी नसरिन खातुनले ९१ मत प्राप्त गरेका छन् ।