काठमाण्डौ । प्रधानमन्त्री पुुष्पकमल दाहालले मधेशी जनताको असन्तुष्टिमा विखण्डनकारीहरुले खेलिरहेका भन्दै मधेश केन्द्रीत दललाई आवेग होइन, विवेक र राष्ट्रप्रति इमानदार बन्न आह्वान गरेका छन् । 

मंगलबार साँझ ५ बजे राष्ट्र र जनताको नाममा सम्बोधन गर्दै उनले कुनै एउटा पक्ष(एमाले)को अवरोधका कारण संविधान संसोधनको प्रक्रिया अगाडि बढ्न नसकेको आरोप लगाउँदै बाध्य भएर स्थानीय निर्वाचनको घोषणा गर्नुपरेको जिकिर गरे । 

उनले स्थानीय निर्वाचनका हरेक बुथ तथा मतपत्रको पूर्ण सुरक्षा गरिने उल्लेख गर्दै भने–‘झण्डै बीस वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन गराइछाड्ने घोषणा गर्दा मलाई कुनै अनिश्चय र संशय होइन, बरु गौरवबोध छ । बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराइछाड्ने मेरो यो आँट र विश्वासको स्रोत जनता नै हो ।’

उनले मधेशी जनताको असन्तुष्टिमा नूनचुक छर्किएर र जनतालाई भड्काएर कतिपयले देश बिखण्डनको सपना देखिरहेका दाबी गरे । आफ्नो सम्बोधनमा उनले भने–‘म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । हिमाल होस्, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन ।’

उनले मधेश केन्द्रीत दलहरुलाई आफ्ना असन्तुष्टि र असहमति मतपत्रको माध्यमबाटै जाहेर गर्ने सुन्दर अवसर नगुुमाउन समेत आह्वान गरेका छन् । उनले अगाडि भनेका छन्–‘मधेसी जनताको विकास र मधेसी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेसी जनताको दैलोमा छ । यो ऐतिहासिक अवसरलाई मधेसी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ।’

उनले निर्वाचन नहुँदा र राजनीतिक अन्यौल बढ्दै जाँदा संघीयता र गणतन्त्र जस्ता उपलब्धिलाई उल्टाउने खेल भइरहेको प्रसंगलाई आफ्नो सम्बोधनमा पनि दोहोर्याएका छन् । 

उनले देशबासी नागरिकहरुलाई सम्बोधन गर्दै निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव रहेको र यो प्रक्रियामा बिना डर, बिना संशय, मन वचन र कर्मले उत्साहित भएर लाग्न समेत आग्रह गरेका छन् ।