काठमाण्डौ । गत आर्थिक वर्ष २०७८–७९ मा मधेश प्रदेशको घरजग्गा कारोबारको राजस्वमा गिरावट आएको छ। 

नेपाल राष्ट्र बैंकले आज मधेश प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घरजग्गा कारोबारको राजस्वमा ३३.२२ प्रतिशतले गिरावट आएको जानकारी दिएको हो।

राष्ट्र बैंकले समीक्षा वर्षमा मधेश प्रदेशको समग्र घरजग्गा रजिस्ट्रेसन संख्यामा १७.११ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार ६ पुगेको जनाएको छ। गत वर्ष यस्तो संख्यामा ५४.११ प्रतिशतले वृद्धि भएको थियो। तर, समीक्षा वर्षमा घरजग्गा कारोबारमा वृद्धि भएपनि राजस्व रकममा भने ३३.२२ प्रतिशतले ह्रास आएर ३६ अर्ब ७ करोड प्राप्त भएको छ। 

गत वर्ष यस्तो रकम ७९.८८ प्रतिशतले बढेर ५४ अर्ब ८ करोड प्राप्त भएको राष्ट्र बैंककोे प्रतिवेदनमा उल्लेख छ।

यस्तै समीक्षा वर्षमा नक्सा पास स्वीकृत संख्या ५ प्रतिशतले बढेर ४ हजार ३०८ पुगेको। गत वर्ष यस्तो संख्या ४ हजार १ सय ३ रहेको थियो।

समीक्षा अवधिमा मधेश प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रतर्फ ७ अर्ब ३९ करोड कर्जा प्रवाह राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।