काठमाण्डौ । चितवन को-ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो र सफल मनकामना केबुलकारको सञ्चालन यही मंसिर ८ बाट २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गर्दैछ। 

वि.सं. २०५५ मंसिर ८ बाट नियमित सञ्चालनमा आएको केवुलकारले सञ्चालनदेखि हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई स्तरीय सेवा प्रदान गरिसकेको छ ।

सञ्चालनपश्चात मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य हुन गएको छ र यस सेवापश्चात सो क्षेत्रमा उल्लेखनीय सबै क्षेत्रमा विकास भई विश्वसामुसमेत मनकामनाको ख्याति प्रचारप्रसार भएको छ । विश्व प्रख्यात अस्ट्रियाको Doppelmayr कम्पनीको प्रविधिबाट सञ्चालित यस केवुलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ। 

सञ्चालन २४ वर्षमा प्रवेश गरिएका साथै प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम प्रविधिको विकास भइरहेको र मर्मतसम्भार खर्चसमेत अत्याधिक भइरहेको र स्पेयर पार्टस् पाउनसमेत केही वर्षभित्र कठिनाइ आउन सक्ने परिप्रेक्षमा यही आ.व. २०७८/७९ बाट केवुलकारको प्रविधिको स्तरोन्नतिसमेत गरिने कम्पनीले जनाएको छ। 

हाल रहेको Analogue System लाई डिजिटल प्रविधिमा (डी–कनेक्ट) तीन चरणमा स्तरोन्नति गरिने कम्पनीले जनाएको छ। स्तरोन्नति कार्य सकभर लो सेसनमा गरिने व्यवस्था गरिएको र सकभर कम समयमा कार्य चरणबद्ध रूपमा गरिने भएकोले नियमित सञ्चालनसमेत भइरहने  । स्तरोन्नति यही चालु आर्थिक र आगामी आर्थिक वर्षको भदौ महिनासम्म सकिने लक्ष्य कम्पनीले राखेको छ।