काठमाण्डौ । चितवन कोई ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गरेका छन्। श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन्। 

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका लागि अनुमति दिइएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए। 

श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डतर्फ प्राप्त गरेका थिए। 

डेकोरेसन अफ अनर अस्ट्रिया सरकारद्वारा सम्मानित गरिने पदक हो। अस्ट्रिया र विदेशबाट समेत जसले देशका लागि उत्कृष्ट सेवाहरु प्रदान गरेका छन्, उनीहरुलाई यो पदक प्रदान गरिन्छ। डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरु सम्बन्धित कानुनबमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले उपयुक्त व्यक्ति छनोट गर्दछ।