काठमाण्डौ । नेपालकै पहिलो मनकामना केबलकारको सञ्चालन २४ औँ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको छ।

२०५५ मंसिर ८ गतेदेखि नियमित सञ्चालन रहेको यो केबलकारले  हालसम्म करिब १ करोड ७० लाख यात्रु तथा भक्तजनलाई केबुलकार सेवा प्रदान गरिसकेको छ। केबुलकारको नियमित सञ्चालनपश्चात् मनकामना क्षेत्र र आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार–व्यवसायमा उल्लेख्य वृद्धि हुनुका साथै मनकामनाको प्रचार प्रसार भएको कम्पनीले जनाएको छ। 

यसका साथै केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबुु श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण एवं स्मरण गर्दै उनको महान् सोचअनुरुप केबुलकारले आफ्नो व्यवसाय आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्चिनु पर्छ भन्ने सोचअनुरुप व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षाजस्ता आदि कार्यमा सहयोग पुर्याउँदै आएको छ। स्व. श्रेष्ठकै मार्गनिर्देशनबमोजिम भविष्यमा पनि यस्ता सामाजिक कार्यमा सहयोग गर्दै जाने कम्पनीले प्रण गरेको छ। 

यसैअनुरुप विगत लामो समयदेखि केबुलकार अवस्थित चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको सहिद लखन गाउँपालिकामा प्रत्येकलाई कुल आम्दानीको १–१ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्वअनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठमन्दिरको जीर्णोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएको कम्पनीको भनाइ छ। यसका साथै भूकम्प तथा कोभिडजस्ता प्राकृतिक तथा अन्य विपतका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको पनि कम्पनीले जनाएको छ।