अमेरिकी दुरसञ्चार कम्पनी एटीएण्डटीले मनोरञ्जन र सञ्चार क्षेत्रको एउटा ठूलो कम्पनी टाइम वार्नर झण्डै ८६ अर्ब डलरमा खरिद गर्ने घोषणा गरेको छ।

दुवै कम्पनीका बोर्डहरुले अनुमोदन गरेको पछिल्लो निर्णय नियमनकारी निकायहरुले अनुमोदन गर्नुपर्नेछ।

सहमति अनुसार बन्ने नयाँ संरचनाले एटीएण्डटीको वितरण सञ्जाल प्रयोग गरी एचबिओ र सिएनएन जस्ता केबल टेलिभिजन च्यानल, वार्नर ब्रदर्श चलचित्र स्टुडियो र अन्य सञ्चार सम्पत्तिहरु भएको टाइम वार्नरका समाग्रीहरु उपलब्ध गराउनेछ।

एटीएण्डटीका अध्यक्षले दुई कम्पनी मिसिएको घटनालाई उत्कृष्ट मिलन भनेका छन्।

संवाददाताहरुले यसलाई वर्षकै सबैभन्दा ठूलो कारोबार भनेका छन्। उनीहरुका विचारमा यसले आफ्नो द्रुत गतिका नेटवर्कहरुमा थप सामाग्रीहरु उपलब्ध गराएर मानिसहरुलाई अनलाइनतर्फ आकर्षित गर्ने दूरसंञ्चार कम्पनीको चाहनालाई प्रतिबिम्वित गर्छ।

अघिल्लो वर्ष झण्डै ५० अर्ब डलर तिरेर एटीएण्डटीले भूउपग्रह प्रणालीमार्फत प्रसारण गर्ने डाइरेक टिभी खरिद गरेको थियो।

नियमनकारी निकायहरुबाट उक्त सहमति अनुमोदन भएपछि एटीएण्डटीले एचबिओ र सिएनएन जस्ता टेलिभिजन नेटवर्कसँगै वार्नर ब्रदर्श चलचित्र स्टुडियो र अरु सञ्चार सम्पत्तिहरुमा नियन्त्रण कायम गर्नेछ।

तर अमेरिकी नियमनकारी निकायहरुले एटीएण्डटीले ती सामाग्रीसम्मको पहुँचमा नियन्त्रण कायम गर्ने सक्ने आशंकामा उक्त सहमतिलाई एकदमै ध्यान दिएर केलाउनेछन्।

एउटा विज्ञप्तिका अनुसार एटीएण्डटीले टाइम वार्नरका प्रत्येक सेयरका लागि एक सय सात डलरभन्दा बढी उपलब्ध गराउनेछ र यो करोबारका लागि झण्डै ८६ अर्ब डलर खर्चनेछ।

एटीएण्डटीले सन् २०१७ को अन्त्यसम्ममा स्वामित्व हस्तान्तरण प्रक्रिया पूरा हुने जनाएको छ।

पछिल्लो निर्णयले सञ्चार तथा प्रविधि कम्पनीको खरिद विक्री तथा एक आपसमा मिसिने क्रम बढाउनसक्ने आकलन गरिएको छ।

-बीबीसीबाट