काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेको छ।

महानगरपालिकाको कार्यालयले आज एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्र रहेका मनोरञ्जनसँग सम्बन्धित व्यापार–व्यवसायमा संलग्न व्यक्ति तथा संस्थालाई मनोरञ्जन कर बुझाउन सूचित गरेको हो। 

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ ले तोकेको दररेटमा आफ्नो व्यवसायसँग सम्बन्धित प्रमाणित कागजातहरुसहित राजस्व विभागमा मनोरञ्जन कर बुझाउन महानगरले आग्रह गरेको छ।

काठमाण्डौ महानगरमा मनोरञ्जन करबापत चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुबाट प्रतिटिक ५ प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति रु. ५०, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहबाट प्रतिव्यक्ति रु. २० र सांस्कृतिक दर्शन हल, थियरटर तथा नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एवं स्पा, स्विमिङ पुल  र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रतिटिकट ५ प्रतिशत तिर्नुपर्ने तोकिएको छ।