काठमाण्डौ । नयाँ मन्त्रीमण्डल गठन भइसकेको अवस्थामा निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले ब्याक डेटमा हस्ताक्षर गरेर पदाधिकारी नियुक्ति गरेका छन् । उनले बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्तिमा ब्याक डेटमा हस्ताक्षर गरी विश्वराज काफ्लेलाई नियुक्त गरेका आरोप लागेको छ । 

नयाँ मन्त्रीमण्डल गठन भइसकेको अवस्थामा निवर्तमान मन्त्री थापाले वाग्लेलाई आफ्नै निवास बोलाएर ब्याक डेटमा हस्ताक्षर गरेर नियुक्ति दिएको मन्त्रालय स्रोतको दाबी छ । ‘हिजोसम्म कर्णालीमा रजिष्ट्रार नियुक्ति गर्ने र गरिएको कुनै जानकारी थिएन । आज उहाँले कसरी पत्र बुझ्नु भयो ।’ स्रोतले भन्यो ।

प्रतिष्ठानमा रजिष्ट्रार कहिले नियुक्ति हुनु भएको हो ? भन्ने विषयमा विश्वराज काफ्लेले पनि आफूू नियुक्ति भएको सुन्नमा आए पनि कुनै पत्र नपाएको बताए । उनले फोन सम्पर्कमा ‘मन्त्रीज्यूले जेठ ५ गते नै निर्णय गरेको’ सुन्नमा आएको बताए । उनले भने, ‘मन्त्रीज्यूले ५ गते होकी १७ गते निर्णय गर्नुभएको छ ।’ 

यता, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु काफ्लेलाई नियुक्ति दिइएको विषयमा अनभिज्ञ छन् । मन्त्रालयका प्रवक्ता भोगन्द्र डोटेलले आफूूहरुलाई कुनै जानकारी नआएको जिकिर गरे । ‘खै हिजो अस्तिसम्म केही थाहा थिएन ।’ उनले भने । 

मन्त्रालयका अर्का टिप्पणीकर्ता रामकृष्ण लामिछानेले  पनि आफूूलाई टिप्पणी उठाएको नउठाएको कुनै जानकारी नभएको जिकिर गरे । ‘नियुक्ति गर्ने कुरा पहिला टिप्पणी उठाएर जाने कुरा हो । म अहिले अनुगमनमा छु फाइल आएको नआएको यसै भन्न सक्दिँन ।’ उनले भने । 

यता, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक पदाधिकारीले भने २२ वा २३ गतेको डेटमा मन्त्री थापाले रजिष्ट्रार नियुक्ति गरेको सुन्नमा आएको बताए । ‘खै हामीलाई पूूरै जानकारी त आएको छैन । तर, अस्ति २२, २३ गते  नियुक्ति गरेको भन्ने सुन्नमा आएको छ ।’–उनले भने । 

स्वागतको तयारीमा उपकूलपति
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय जाउलाखेलमा भने वाग्लेको स्वागतका लागि उपकुलपति नै फुलमाला लिएर बसेका छन् । वाग्लेलाई आजै प्रतिष्ठानमा स्वागत गर्न लागिएको हो । प्रतिष्ठानका उपकूलपति डा. राजेन्द्र वाग्लेले रजिष्ट्रार कहिले नियुक्ति भएको गरेको जानकारी नआए पनि वाग्लेसँग सम्पर्क गर्दा  मन्त्रालयमा चिठ्ठी बुझ्न गएको जानकारी आएको बताए । ‘मलाई पूूरै जानकारी त आएको छैन, तर उहाँ मन्त्रालयमा चिठ्ठी बुझ्दै हुनुहुन्छ भन्ने खबर आएको छ । त्यही भएर उहाँको स्वागतका लागि सम्पर्क कार्यालयमा तयारी गरिएको छ ।’ उनले भने । उनले मन्त्रीले ब्याक डेटमा हस्ताक्षर गरेको नगरेको आफूूलाई केही जानकारी नभएको बताए ।

‘स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन भएको अवस्थामा वाग्लेले कसरी नियुक्ति पत्र बुझ्न सक्छन् । विचारणीय कुरा यहिँ छ । उहाँ मन्त्रालयमा चिठ्ठी लिन आउनु भएको जानकारी छैन ।’–मन्त्रालय स्रोत भन्दछ । 

मन्त्रालय स्रोतका अनुसार थापाले कर्णालीसँगै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत पदाधिकारी नियुक्ति गर्ने तयारी गरेका थिए । तर, पछिल्लो समय वीपी प्रतिष्ठान र पाटनका विषयमा धेरै कुरा सञ्चारमाध्यममा आएकाले थापा पछि हटेका थिए । 

गगन थापाले भने आफूमाथिको आरोपको खण्डन गरेका छन् । उनले आफ्नो बदनाम गर्ने नियतले कसैले गलत हल्ला फैलाएको दाबी गर्दै यस्ता कुराको पछि नलाग्ने प्रतिक्रिया दिए ।