काठमाण्डौ । पछिल्लो समय देशको राजनीतिमा रमाइला झाँकीहरु भइरहेका छन् । मंगलबार सर्वोच्च अदालतले केपी शर्मा ओलीले पछिल्लो समय नियुक्त गरेका २० मन्त्रीहरुलाई पदमुक्त गरिदिएको छ । 

एकैदिन २० मन्त्री(राज्यमन्त्रीसहित) पदमुक्त भएका हुन् । 

सर्वोच्च अदालतले ओलीले नियुक्त गरेका जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  यो आदेशसँगै २ उपप्रधानमन्त्री, १५ मन्त्री र २ राज्यमन्त्रीको जागिर गएको छ । 

अब ओली नेतृत्वको कामचलाउ सरकार ५ सदस्यीयमा सीमित बन्न पुगेको छ । ओलीबाहेक ४ जना मन्त्रीको पद मात्र थामिएको छ । 

काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश दिएसँगै मन्त्री भएको १८ दिनमै जागिर चैट भएको छ । 

रमाइलो कुरा त, जागिर गुमाएका मन्त्रीहरुमध्ये २ जना सर्वोच्च आदेश आउँदा सरकारी हेलिकोप्टरमा घुम्दै थिए । 

सिन्धुपाल्चोकका बाढीपीडितको पीडा बुझ्न भन्दै स्वास्थ्यमन्त्री शेरबहादुर तामांग र सहरी विकास मन्त्री राजेन्द्र महतो हेलिकोप्टरबाट त्यहाँ गएका थिए । जाँदा मन्त्रीको हैसियतमा पुगेका उनीहरुले फर्किदा भने जागिर गुमाइसकेका थिए । 

यसअघि माओवादीको तर्फबाट सरकारमा सहभागी रामबहादुर थापा बादल लगायतका नेताहरुलाई समेत सर्वोच्चले पदमुक्त गरिदिएको थियो । 

घरबाट हिँड्दा मन्त्रीको हैसियतमा हिँडेका थापा राष्ट्रियसभाको निर्वाचन सकेर फर्किदा भने पदमुक्त भइसकेका थिए । 

सर्वोच्चले मंगलबार गरेको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्रीमा सीमित बन्न पुगेका छन् । कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रीपरिषद विस्तार गर्ने अधिकार नहुने सर्वोच्चले प्रष्ट पारिदिएको छ । 

सर्वोच्चको यो आदेशबाट सरकारी पक्ष स्तब्ध बनेको छ भने ओलीविरोधी खेमा भने उत्साही देखिएको छ । 

सर्वसाधारणमा भने राजनीतिक अन्यौल बढ्ने चिन्ता देखिएको छ ।