काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन १२ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत  साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत खरिद आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार हिजो साउन ११ गते साँझ ५ बजेसम्म यो आईपीओमा ११ लाख ८३ हजार १० आवेदकबाट १ करोड ३४ लाख २४ हजार ४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.२७ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।