काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज साउन १२ गते  निष्कासनको अन्तिम दिनसम्म साढे १६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १६ लाख १० हजार ९२६ आवेदकबाट १ करोड ८० लाख ८१ हजार १८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १६.५३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

यो आईपीओको बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको छ।