काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे राखिएको छ। 

क्यापिटलका अनुसार मन्दाकिनी हाइड्रोपावरको प्रि–अलटमेन्टको काम आइतबार सकिएको छ।

कम्पनीले गत साउन ९ गतेदेखि १४ गतेसम्म कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा १६ लाख १० हजार ९२६ आवेदकबाट १ करोड ८० लाख ८१ हजार १८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १६.५३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।