काठमाण्डौ । अमेरिकामा बैंक ब्याजदर बढेर रेकर्ड स्तरमा पुगेको र विश्वभर आर्थिक मन्दी आउनसक्ने आशङ्काले लगानीकर्ताको मनमस्तिष्कमा घर गरेपछि भारतीय सेयर बजार क्र्यासको बाटोतर्फ उन्मुख बनेको छ । 

बीएसई सेन्सेक्स तथा एनएसई निफ्टी इण्डेक्स लगातार केही दिनदेखि गिरावटको मार खेपिरहेका छन् । बिहीबार राम्रो सुरुवातको आशा गरिएको थियो, केहीबेर बढे पनि त्यो धेरैबेरसम्म टिकेन । एक बज्दा नबज्दै बजार धराशायी बन्न पुग्यो । 

अमेरिकाको फेडरल रिजर्बले बुधबार ब्याजदरमा ०.७५ प्रतिशत बढोत्तरीको निर्णय गरेको थियो । यो निर्णयपछि अमेरिकी सेयर बजार तीव्रताका साथ बन्द भएको थियो । त्यसकै प्रभावले भारतीय सेयर बजार आज सुरुवातमा बढोत्तरीका साथ खुलेको थियो । सुरुवाती कारोबार समयमा सेन्सेक्स ६०० अंकसम्मले बढ्यो । तर, जब कारोबार बन्द भयो, तब सेन्सेक्स १०४५.६० अंकले घटेर ५१४९५.७९ अंकमा बन्द भयो । आज सेन्सेक्स ५३१४२.५० को विन्दूसम्म पुगेको थियो र ५१४२५.४८ अंकसम्म घटेको थियो । यसरी हेर्दा आज सेन्सेक्समा १७०० भन्दा बढीको उथलपुथल देखियो । 

यसैगरी, एनएसई निफ्टीले पनि मजबुतीका साथ सुरु भएर १५८६३.१५ अंकको उचाईसम्म पुग्यो । कारोबारका क्रममा यो इण्डेक्स १५३३५.१० को विन्दूसम्म झरको थियो, जुन यसको ५२ हप्ताकै न्यूनतम विन्दू पनि हो । आज एनएसई निफ्टी २.११ प्रतिशतले घटेर बन्द भयो । 

सेन्सेक्स तथा निफ्टी दुवै इण्डेक्स आज घटेर जुन विन्दूमा झरेका छन्, त्यो भनेको यो वर्षकै न्यूनतम विन्दू हो । 

यसअघि बुधबारको बजार पनि उतारचढावपूर्ण रहेको थियो । 

उता, अचाक्ली बढेको मुद्रास्फिति नियन्त्रणका लागि अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर  ०.७५ प्रतिशतले बढाउने निर्णय गरेको थियो । यो भनेको अमेरिकामा विगत तीन दशकमै सबैभन्दा बढी ब्याजदर बढेको घटना हो । अब अमेरिकामा ब्याजदर बढेर १.५० प्रतिशतदेखि १.७५ प्रतिशतसम्म पुगेको छ । अहिले अमेरिकामा खुद्रा महंगीको दर ८.६ प्रतिशत रहेको छ, जुन करिब ४० वर्षकै उच्च हो । 

फेडरल रिजर्बले खुद्रा मुद्रास्फितिलाई घटाएर २ प्रतिशतको विन्दूमा सीमित पार्न चाहन्छ । यहीकारण उसले आक्रामक ढंगले बैंक ब्याजदर बढाउन थालेको समाचारमा उल्लेख छ । यो मूभले अर्थतन्त्रमा तरलताको कमी हुन्छ र यसले मागमा लगाम लगाइदिन्छ । तथापि, यस्तो कदमले सम्बन्धित देशको अर्थतन्त्रमाथि मन्दीको खतरा पनि उत्तिकै हुन्छ । 

-एजेन्सीहरुबाट