काठमाण्डौ । ९० वर्ष पुरानो मल्टीनेशन ब्यूटी कम्पनी रेभलान इंक टाट पल्टिने अवस्थामा पुगेको छ । 

यो कम्पनीले बैंकरप्सीका लागि आवेदन दायर गरेको खबर बाहिरिएको छ । पछिल्लो समय रेभलानले बैंकहरुबाट लिएको कर्जा चुकाउन सकिरहेको थिएन भने सप्लाई चेनको समस्याले कम्पनीको हालत खराब भइसकेको थियो । 

कोभिड लकडाउनपछि खुलेको बजारमा रेभलानका प्रडक्टहरुको माग ह्वात्तै बढेको थियो । तर, कम्पनीले आफ्नो खराब सप्लाई चेनलाई सुधार्न नसक्दा आफ्ना प्रडक्ट ग्राहकसम्म पुर्याउन असफल बन्यो । यस्तै, यो कम्पनीलाई अन्य प्रतिस्पर्धी कम्पनीहरुबाट समेत कडा चुनौति आइरहेको थियो । 

रेभलान इंकको स्वामित्व अर्बपति कारोबारी रोन पेरेलम्यानको कम्पनी म्याक एन्ड्रीज एण्ड फोब्र्ससँग थियो । 

यो कम्पनीले बैंकरप्सीअन्तरगत नै आफ्नो कारोबार भने सुचारु राख्न सक्नेछ । यस्तै, कर्जा तिर्ने प्रष्ट योजना समेत पेश गर्न सक्नेछ । 

यो कम्पनीको हाल १५ भन्दा बढी धेरै ब्राण्डहरु छन् । करिब १५० देशमा यो कम्पनीका प्रडक्टहरु बिक्री हुने गर्छ । मार्चसम्म कम्पनीको टाउकोमा ३.३१ अर्ब डलरको ऋणको भार थियो । कम्पनीले आफूले कर्जा लिएका ठाउँहरुबाट ब्याजमा राहात पाउने कोशिश गरिरहेको समाचारमा उल्लेख छ । 
गत वर्ष मात्रै यो कम्पनीले २४८ मिलियन डलर ऋणको ब्याज मात्र तिरेको थियो । रिपोर्टका अनुसार जनवरीदेखि मार्चसम्म यो कम्पनीलाई ६७ मिलियन डलर खूद घाटा भएको थियो । 

महामारीको पहिलो वर्ष सन् २०२० मा कम्पनीको बिक्रीमा २१ प्रतिशतको गिरावट आएको थियो । 

तथापि ताजा रिपोर्टमा भने कम्पनीको बिक्रीमा ९.२ प्रतिशतले बढोत्तरी भएको थियो । 

मार्चमा सकिने त्रैमासमा यो कम्पनीको बिक्रीमा लगभग ८ प्रतिशतको बढोत्तरी देखिएको थियो । 

ग्लोबल सप्लाई चेनमा आएको समस्याका कारण धेरै कम्पनीहरुलाई अहिले समस्या भइरहेको छ । रेभलान चाहिँ यो समस्याका कारण बढी नै प्रताडित छ । 

यो कम्पनीको सुरुवात नेलपोलिसबाट भएको थियो । सन् १९३२ को निकै ठूलो आर्थिक मन्दीको दौरान नै यो कम्पनीले औपचारिक कारोबार सुरु गरेको थियो । चाल्र्स रेब्सन र जोसेफ रेव्सन नामका दुई दाजुभाईले यो कम्पनीको सुरुवात गरेका थिए । सन् १९८५ मा रेभलानलाई पेन्ट्री प्राइड नामकको कम्पनीले ५८ डलर प्रति सेयरको हिसाबबाट कुल २.७ अर्ब डलरमा किनेको थियो ।