काठमाण्डौ । विश्वका अधिकांश देशहरु कोरोना संक्रमणका नयाँ मामिलाहरु नियन्त्रण गर्न लागिपरेका बेला चीनको अर्थतन्त्र लयमा फर्किन थालेको छ।

कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउन र प्रतिबन्धका बाबजुद पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन यो वर्ष आर्थिक मन्दीलाई पन्छाउने एक्लो प्रमुख विश्व शक्ति राष्ट्र बनेको छ। यो वर्ष चीनको जीडीपी १.६ प्रतिशतले बढ्ने अनुमान लगाइएको छ। जब कि यो वर्ष विश्व बैंकका अनुसार विश्वको समग्र अर्थतन्त्र ५.२ प्रतिशतले संकुचन हुनेछ। 

कोरोना महामारी देखिएपछि चीनले विभिन्न उपाय जस्तै– कडा लकडाउन र ट्रयाकिङ पोलिसीहरुका माध्यमबाट तीव्र आर्थिक पुनरुत्थान हासिल गर्यो। यसका साथै चीन सरकारले देशको प्रमुख पूर्वाधारका योजनाहरुमा खर्बौं डलर खर्च गर्यो र जनताको खर्च गर्ने क्षमता वृद्धि गर्न नगद बाँड्नेजस्ता काम गर्यो। गत साताको व्यस्त गोल्डेन विक होलिडेका क्रममा बढेको खर्च र पर्यटकको संख्यालाई यसको गतिलो प्रमाणका रुपमा लिन सकिन्छ। 

विश्व बैंकको डेटा प्रयोग गरी सीएनएन बिजनेसले गरेको आँकलनअनुसार यो वर्षको अन्त्यसम्म विश्वको कुल जीडीपीमा चीनको अर्थतन्त्रको योगदान १.१ प्रतिशतले बढ्ने छ। यो योगदान सन् २०१९ को भन्दा तीनगुणाले धेरै हो। यसविपरीत विश्वको कुल जीडीपीमा अमेरिका र युरोपको योगदान भने घट्नेछ। 

यसका साथै सन् २०२० को अन्त्यसम्म चीनको अर्थतन्त्र १४.६ ट्रिलियन डलर मूल्यको हाराहारीमा पुुग्ने अनुमान लगाइएको छ। जुन विश्नको कुल जीडीपीको १७.५ प्रतिशत हुन आउँछ। 

म्याकरी गुप्रका प्रमुख चिनियाँ अर्थशास्त्री ल्यारी हुका अनुसार कोरोना महामारीको अवरोध बिना पनि यो वर्ष विश्वको कुल जीडीपीमा चीनको योगदान बढ्ने निश्चित थियो। ल्यारीका अनुसार अन्य देशहरुको तुलनामा चीनको अर्थतन्त्रले तीव्र रुपमा पुनरागमन गरिरहेको छ। 

चीनको आर्थिक सुधारहरु यो साता अर्थात देशले आफ्नो एनियुल गोल्डेन विक होलिडेज् मनाउँदा स्पष्ट रुपमा देखियो। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार यो गोल्डेन विकका क्रममा करिब ६ करोड ३० लाख मानिसले देशभर यात्रा गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा झन्डै ८० प्रतिशत हो। 

यसका खर्च पनि ७० बिलियन डलर बढेर गत वर्षको ७० प्रतिशतको हाराहारीमा पुुगेको छ। गोल्डेन विकका क्रममा चलचित्रको टिकट बिक्री ५८० मिलियन डलर पार भएको छ। 

चीनको अर्थतन्त्रमा बलियो पुनरागमन देखिए पनि चुनौतीहरु भने अझै पनि बाँकी रहेका छन्। फिच रेटिङ एनालिस्टका अनुसार अन्य देशहरु जस्तै– चीनमा पनि कोरोना महामारीले गरिब र ग्रामीण भेगका बासिन्दाहरुलाई नराम्ररी प्रभावित पारेको छ। 

विश्व बैंकका अनुसार यो वर्षको दोस्रो त्रैमासमा चीनको ग्रामीण भेगका आप्रवासी कामदारको मासिक आम्दानी ७ प्रतिशतले घटेको छ। यो समूहका कामदारहरु निर्माण, उत्पादन र अन्य न्यून आम्दानी भएका तर विशेष महत्व राख्ने कामहरु संलग्न हुने गर्दछन्। 

चीनको साउथ वेस्टर्न युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स र आन्ट गुप्रको अनुसन्धान संस्थाले गरेको संयुक्त सर्भेका अनुसार वार्षिक ७३५० डलरको न्यून आम्दानी भएका परिवारहरुको सम्पत्ति अन्यको तुलनामा सबैभन्दा धेरै घटेको छ। – एजेन्सी