काठमाण्डौ । मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईनमार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएका छन् ।

उनीहरुले कार्यालयबाट जनसम्पर्क हुने सबै सेवा स्थगित भएको घोषणा गरेका छन् । 

धितोपत्र बोर्डले बैशाख ३० गते दिएको निर्देशनपछि मर्चेन्ट बैंकर्स एशोसिएसनले शुक्रबार यस्तो निर्णय गरेको हो । 

यो निर्णयसँगै मर्चेन्ट बैंकका सबै कार्यालयमा अब सेवाग्राही जान पाउने छैनन् । 

नेपाल सरकारले अत्यावश्यक कार्यबाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागू गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउने गरी वर्क फ्रम होममार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको उल्लेख गर्दै एशोसिएसनले ग्राहक तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधिभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सार्वजनिक अपील समेत गरेको छ । 

एशोसिएसनले शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईनमार्फत गर्न तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेको छ । 

अनलाइन कारोवारका क्रममा मेरो शेयर वा इडिआईएस सम्बन्धी केही समस्या आइपरेमा कम्पनीको फोन नम्बर तथा वेभसाईटमा उल्लेख गरिएको इमेल र मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।