काठमाण्डौ । राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्थाहरु मर्ज गराई संख्या घटाउने नीति अनुरुप २० वटा बैंकहरु मर्जका लागि तयार भएका छन् । 

मर्जरका लागि तयार हुने २० बैंकमध्ये १७ वटा वाणिज्य बैंक छन् भने तीनवटा विकास बैंक रहेका छन् । विकास बैंकमध्ये २ वटा राष्ट्रियस्तरका छन् भने एउटा क्षेत्रीय स्तरको छ । 

नेपाल राष्ट्रबैंकका अनुसार नेपाल राष्ट्रबैंकले वाणिज्य बैंक र विकास बैंकका अध्यक्ष तथा सीइओहरुलाई बोलाएर एकसाताभित्र मर्जर प्रतिबद्धता पेश गर्न कडा निर्देशन दिएको थियो । 

निर्देशनको पालना गर्दै मर्जर सम्झौता गर्ने तथा मर्जरका लागि तयार रहेको भन्दै लिखित प्रतिबद्धता व्यक्त गर्ने बैंकहरुको संख्या २० पुगेको हो । 

बैंकिङ उद्योगमा बिग मर्जरको चर्चा चुलिएको बेला अन्य बैंकहरुलाई समेत दवाब सिर्जना गर्दै ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरको सम्झौता गरिसकेका छन् । जनता बैंकलाई १००: ८५ को सेयर स्वाप अनुपातमा गाभ्ने सम्झौता गरेको ग्लोबल आइएमई बैंक अन्य वाणिज्य बैंकसँग पनि मर्जरको छलफलमा अझै सक्रिय छ । यो बैंकका संचालक मेगा मर्जर गरी ठूलो साइजको बैंक अभियान अभियानमा रहेको बताइन्छ ।

यही बीचमा प्राइम कमर्सियल बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई १००ः९४ हाराहारीमा सेयर स्वाप अनुपात कायम हुने गरी प्राप्तिको सम्झौता गरिसकेको छ । 

यस्तै, सिटिजन्स बैंकले क्षेत्रीय स्तरको(प्रदेश २)को सहयोगी विकास बैंकलाई १००: ९० को सेयर स्वाप अनुपातमा प्राप्तिको सम्झौता आइतबार मात्र गरेको छ । 

यसरी बैंक तथा वित्तीय संस्था धमाधम मर्जर वा प्राप्तिको सम्झौता गरिरहेका छन् भने १५ वटा वाणिज्य बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता केन्द्रीय बैंकमा पेश गरेका छन् । 

एक्लै अगाडि बढ्ने भनिएको एनआइसी एशियाले समेत मर्जरमा जाने लिखित प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंकले समेत मर्जरमा जाने लिखित प्रतिबद्धता पेश गरेका छन् । प्रतिबद्धता पेश गरेकामध्ये एनएमबी बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ । 

मर्जरका लागि तयार होला भनेर आशै नगरिएको नेपाल एसबीआई बैंकले समेत त्यसका लागि प्रतिबद्धता जनाएको छ । 

प्रतिबद्धता जनाएकामध्ये सेञ्चुरी बैंकले यो साताभित्रै कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्ने संभवना छ । हिमालयन र कुमारी बैंकबीच पनि मर्जर सम्झौता हुनसक्ने संभावनाहरु रहेका छन् । 

माछापुच्छ्रे बैंक र सानिमा बैंकबीच समेत मर्जरको संभावना रहेको स्रोतहरुले दाबी गर्दै आएका छन् । 

कतिपयले भने मेगा, सिभिल र सेञ्चुरी बैंकबीच पनि मर्जरको सम्झौता हुनसक्ने आँकलनहरु सार्वजनिक गरिरहेका छन् । 

विकास बैंकमध्ये मर्जरका लागि लिखित प्रतिबद्धता सांग्रीला डेभलपमेन्ट बैंकले मात्र राष्ट्रबैंकमा पठाएको छ । यो बैंकलाई प्रभू बैंकले प्राप्ति गर्ने कोशिश गरिरहेको उच्च स्रोतहरु बताउँछन् । 

मर्जरको लिखित प्रतिबद्धता नै पेश नगरेका अन्य बैंकहरु समेत भित्रभित्रै मर्जर पार्टनरको छनौटको कोशिश गरिरहेका छन् । कतिपय बैंकहरु मौद्रिक नीति(असार २७ गते)अघि नै मर्जर सम्झौता गरी 'सरप्राइज' दिने गृहकार्य गरिरहेका छन् । 

नेपाल राष्ट्रबैंकसमक्ष असार २२ गतेसम्म मर्जरको लिखित प्रतिबद्धता पेश गरेका बैंकहरुको सूचि ।