काठमाण्डौ । हिमालयन बैंकसँग बिलय हुने गरी लगातार छलफलमा बसेको सिभिल बैंकसँग सिटिजन्स बैंक इन्टरनेशनलले पनि तत्काल मर्जर सम्झौता नगर्ने भएको छ । 

हिमालयन बैंकका सञ्चालकहरुले सहमति भइसकेको स्वापको विषयमा बोली फेरेपछि र पछिल्ला छलफलमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललाई मर्जरपछि बन्ने बैंकमा वरिष्ठ डेपुटी सीइओ दिन नसकिने अभिव्यक्ति दिएपछि मिल्नै लागेको मर्जर छलफल भाँडिएको हो । 

हिमालयन बैंकले अन्तिम अवस्थामा कुरा फेरेकै कारण हुनै लागेको सम्झौता भाँडिएपछि सिभिल बैंकले सिटिजन्स बैंक इन्टरनेशनलसँग मर्जरको प्रस्ताव गर्दै छलफललाई अगाडि बढाएको छ । 

हिमालयन बैंकसँग पनि मर्जरका छलफल हुँदै गर्दा समेत सिभिलले ‘सिटिजन्स कार्ड’ पटक–पटक प्रयोग गरेको थियो । हिमालयनलाई दवाब दिनका लागि ‘तिमीहरुसँग नभए सिटिजन्ससँग जान्छौं’ भन्ने आशयबाट कतिपय सञ्चालकहरुले आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका थिए । ‘सिटिजन्स कार्ड’ले केही समयसम्म काम गरे पनि हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ लगायत नै भित्री रुपमा हुनै लागेको मर्जर सम्झौता भाँड्न लागेपछि परिणाम अपेक्षा गरेभन्दा फरक आएको हो । 

हिमालयन बैंकसँगको सम्भावित मर्जर तत्कालका लागि भाँडिएको निश्कर्ष निकाल्दै सिभिलको मर्जर कमिटी र सञ्चालकहरुले सिटिजन्स बैंकसँगको छलफललाई केही दिनदेखि घनिभूत रुपमा अगाडि बढाएका थिए । सिभिलले सिटिजन्ससँग मर्जरका लागि तत्काल सम्भावना देखेको थियो । तर, प्रारम्भिक छलफलहरुका क्रममा सिटिजन्स बैंकका सञ्चालकहरुले केही विषयमा आफ्ना प्रष्ट अडान राखी हतारो नगरिदिएपछि तत्काल एमओयू हुने अवस्था टरेको हो । 

सिभिल तथा सिटिजन्स बैंकस्थित उच्च स्रोतहरुका अनुसार आज पनि दुवै बैंकको मर्जर कमिटी तथा सञ्चालकहरुबीच केही चरणमा छलफलहरु भएका थिए । 

आज बिहान सिटिजन्स बैंकको मर्जर कमिटीको बैठक बसेको थियो । सो बैठकले कर्मचारी समायोजन, सेयर स्वाप, बैंकको नाम लगायतका जटिल विषयहरु उठाएको बुझिएको छ । 

सिटिजन्स बैंकले प्रष्ट रुपमा सुरुमा आफ्नो बैंकको डिडिए गर्ने, त्यसपछि मात्र मर्जरको सम्झौता गर्न सकिने भनेको छ । ‘हामी अरु बैंकले जस्तो अन्धाधुन्ध कुनै स्वापमा सम्झौता गर्न तयार छैनौं भन्ने प्रष्ट सन्देश सिभिलका साथीहरुलाई दिएका छौं ।’ सिटिजन्स बैंकका एक सञ्चालकले भने–‘डिडिए नभई मर्जर सम्झौता नहुने भएकोले असारभित्रै केही पनि हुँदैन । मर्जरमा जानैपर्ने अवस्था आयो भने पनि एमओयूपछि कोहीसँग सम्झौता नै गर्नपर्दा पनि कम्तीमा २ महिना समय लाग्नेछ ।’ 

सिटिजन्स बैंकका सञ्चालकहरु सिभिलसँग मर्जरमा जाँदा उच्च तहका कर्मचारीहरुको समायोजन सहजै मिलिहाल्ने अवस्था नरहेको बताउँछन् । उनीहरुको भनाईमा सिभिल बैंकमा उच्च तहका कर्मचारी धेरै छन्, जब कि सिटिजन्समा यो संख्या निकै कम छ । सिभिलमा कर्मचारीहरुको छिटो छिटो बढुवा भएका कारण उच्च व्यवस्थापनमा संख्या ठूलो भए पनि सिटिजन्समा त्यति छिटो बढुवा नहुने भएका कारण सिनियर स्टाफ पनि उच्च तहमा पुगिसकेका छैनन् । यसले सिभिलसँगको सम्भावित मर्जरमा व्यवधान सिर्जना गर्नसक्ने विश्लेषण गरिएको छ । 

यस्तै, सिटिजन्स बैंक कर्मचारीहरुको युनियन नभएको सीमित संख्याका बैंकमध्येको एउटा बैंक हो । तर, सिभिलमा भने निकै बलियो कर्मचारी युनियन रहेको छ । कर्मचारी युनियन रहेको बैंक भोलिका दिनमा कर्मचारी युनियन नभएको बैंकमा मिसिँदा कुनै असहज अवस्था पो बन्ने हो कि भन्ने विषयमा समेत सिटिजन्सका सञ्चालक तर्सिएका देखिएको सिभिलका एक सञ्चालकले बिजशालालाई बताए । 

‘हाम्रो बैंकमा ड्राइभर/म्यासेञ्जर समेत स्थायी छन् । सिटिजन्समा भने यस्ता पदहरुमा आउटसोर्सिङ गरिँदो रहेछ । मर्जपछि यस्ता पोस्टमा कार्यरतहरुको जागिर के हुन्ने भन्ने सवाल पनि उठ्यो ।’ सिभिलका ती सञ्चालकले भने–‘सिटिजन्सका साथीहरुले यस्ता पोस्टमा कार्यरत स्थायी कर्मचारीलाई भीआरएस दिएर विदा गर्ने शर्त समेत अगाडि राख्नुभयो । सुरुमै जटिल विषयहरु उठेका छन् । तत्काल एमओयू हुँदैन ।’ 

सिटिजन्ससँग तत्काल एमओयू नहुने अवस्था बनेपछि फेरि हिमालयनसँगै रातारात कुनै अनपेक्षित अवस्था सिर्जना भई सिभिलको कुरा मिल्नसक्ने अवस्था समेत यथावत रहेको स्रोत दाबी गर्छ । 

एनसीसी पनि सिटिजन्सको शरणमा
पछिल्लो समय नवील बैंकले आफूमा बिलय गर्ने भने पनि कुरा नमिलेपछि कुनै न कुनै वाणिज्य बैंकसँग मर्जमा जानैपर्ने बाध्यतामा रहेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले समेत सिटिजन्स बैंकसँग मर्जरका लागि केही चरणका छलफलहरु गरिसकेको छ । 

केही चरणका छलफलहरु सकारात्मक बनेका स्रोतहरुको दाबी छ । तर, सिटिजन्सले एनसीसीसँगको मर्जर छलफलमा पनि सेयर स्वापको विषयमा अन्धाधुन्ध सम्झौता नगर्ने अडान नै राखेको छ । सिटिजन्सका सञ्चालकहरुले पहिला डिडिए गरेर सोही आधारमा मात्र मर्जर सम्झौता गर्न सकिने आफ्नो धारणा एनसीसीका सञ्चालकहरुसँग पनि राखेका स्रोत बताउँछ । 

सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा भेटेरान बैंकर राजनसिंह भण्डारी छन् । उनी स्वयम् नेपालको बैंकिङ उद्योगकै अगुवा बैंकर भएका कारण अन्धाधुन्ध स्वापमा सहमति नगर्ने पक्षमा छन् । मर्जरमा जानैपर्ने भए पनि डिडिए गरेर त्यसबाट आउने रिपोर्टका आधारमा मात्र अगाडि बढ्ने उनको प्रष्ट अडान छ । 

अध्यक्ष भण्डारीले पहिलादेखि नै सिटिजन्स बैंकको पहिचान र अस्तित्व नमेटिने गरी मर्जरमा जान सकिने प्रष्ट धारणा राख्दै आएका छन् । तर, भित्री रुपमा भने उनी मर्जरबाट सिनर्जी आउने अवस्था रहन्न भने अर्गानिक ग्रोथमै अग्रसर बन्नुपर्छ भन्ने लाइनमा उभिने गर्छन्।

कुशल व्यवस्थापनका कारण पछिल्लो समय सिटिजन्स बैंकले निकै राम्रो प्रगति गरिरहेको छ । साना साना संस्था आफूमा गाभ्दै साइज ठूलो बनाएको सिटिजन्स बैंकले पछिल्ला वर्षहरुमा डबल डिजीटको रिटर्न दिइरहेको छ । प्रूडेन्ट बैंकिङको निकै राम्रो अभ्यास हुने सिटिजन्सले मर्जर पार्टनर खोज्दा समेत निकै विचार पुर्याएको देखिन्छ । एक सञ्चालक भन्छन्–‘मर्जरपछि सिनर्जी नै नआउने गरी कुनै पनि संस्था लिँदैनौं वा त्यस्तासँग सम्झौता गर्दैनौं । हामीलाई ठूलो मात्र होइन, बलियो बैंक बन्नुछ। प्रूडेन्ट बैंकिङको निर्विकल्प मानक बन्नुछ।’