काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले मर्जरमा जाने कम्पनीहरुको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनुपर्ने बताएका छन्।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन्। ‘मर्जर प्रयोजनका लागि हुने कारोबार रोक्का गरिने सेयरधनीको हितमै हुन्छ’, उनले भने, ‘मैले हिजो पनि कारोबार रोक्न हुँदैन भनेको थिइनँ। मेरो कुरालाई गलत रुपमा प्रचार गरियो।’

हमालले मर्जर प्रयोजनबाहेक बीचमा आउने अन्य कारणबाट कुनै पनि कम्पनीको कारोबार लामो समयसम्म रोकिन नहुनेमा जोड दिए। 

कारोबार लामो समय नराकियोस् भनेर धितोपत्र बोर्ड र हालै गठित टास्क फोर्सले काम गरिरहेको उल्लेख गर्दै हमालले यस विषयमा चाँडै केही सहज व्यवस्था आउने बताए। 

धितोपत्र बोर्ड सधैँ लगानीकर्ताको हितको पक्षमा रहेको जिकिर गर्दै हमालले बोर्डले गरिरहेका राम्रा कामको विषयमा मिडियाहरुले सहयोग नगरेको गुनासो पनि गरे। उनले आफूले राम्रो काम गर्न खोजिरहँदा गलत समाचार फैलाएर कतिपय मिडियाले असहयोग गरिरहेको गुनासो पनि पोखे।