काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले मर्जर प्रयोजनका लागि १५ दिनभन्दा बढी सेयर कारोबार रोके कारबाही गर्ने चेतावनी दिएका छन्। 

ललितपुरको ग्वार्कोमा आज सञ्चारकर्मीसँगको अन्तर्क्रियामा अध्यक्ष हमालले यस्तो चेतावनी दिएका हुन्। ‘मर्जर प्रयोजनका लागि एकीकृत कारोबार सुरु भएपछि बढी १५ दिन सेयर कारोबार रोक्न पाइने व्यवस्था ल्याइसकिएको छ’, उनले भने, ‘१५ दिनभन्दा बढी कारोबार रोकेको सूचना पाएमा तत्काल कारबाही गर्छौं।’

अर्को प्रसंगमा अध्यक्ष हमालले वैदेशिक रोजगारीमा रहेकालाई वैधानिक च्यानलबाट पैसा स्वदेश पठाउन प्रोत्साहन गर्न आईपीओमा आरक्षणको व्यवस्था गरिएको बताए। ‘आईपीओमा आरक्षणको नीति राम्रो होइन’, उनले भने, ‘तर, यो नीतिले हुन्डीबाट आउने रेमिट्यान्सलाई निरुत्साहित गर्छ र वैधानिक च्यानलबाट भित्र्याउन बल पुग्छ।’

आईपीओमा आरक्षणको नीतिले स–सानो रकमलाई बजारमा भित्र्याउन प्रोत्साहन गर्ने पनि हमालको भनाइ थियो।