काठमाण्डौ। मर्सिडिज बेन्जले विश्वको अहिलेसम्मकै सबैभन्दा महँगो कार बिक्री गरेको जनाएको छ। 

कम्पनीले आफूले कलेक्सन गरेर राखेको ‘मर्सिडिज–बेन्ज एलएलआर’ मोडलको एउटा कार एक व्यक्तिलाई १३५ मिलियन युरो (१७ अर्ब ६३ करोड रुपैयाँ बढी) मा बिक्री गरेको जनाएको हो। कलेक्टर कारहरुको मूल्य ट्रयाक गर्ने कम्पनी ‘हेगर्टी’ का अनुसार यो मूल्य अहिलेसम्म बिक्री भएका कारहरुको मूल्यभन्दा उच्च हो। 

बिक्री गरिएको मर्सिडिज दुईवटा ३०० एसएलआर उलेहनहाउट कुप प्राटोटाइपमध्ये एउटा हो। ६७ वर्ष पुराना यी कार मर्सिडिजनका तत्कालीन मुख्य इन्जिनियर रुडोल्फ उलेहनहाउटको नाममा राखिएको थियो। 

यो कारको गति १८६ एमपीएच दाबी गरिएको छ। यो कारलाई गत मे ५ मा स्टुटगार्टमा रहेको मर्सिडिज–बेन्ज म्युजियममा लिलामी गरिएको थियो। कार खरिद गर्ने व्यक्तको नाम भने खुलाइएको छैन।  

कारको बिक्रीबाट प्राप्त भएको रकम ‘मर्सिडिज–बेन्ज फन्ड’स्थापना गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ। ‘मर्सिडिज–बेन्ज फन्ड’ विश्वव्यापी छात्रवृत्ति कोष हो। 

यसअघि सबैभन्दा उच्च मूल्यमा बिक्री गरिएको कारको मूल्य ७० मिलियन रहेको थियो। सन् २०१८ मा ‘फेरारी २५० जीटीओ’ मोडलको कार ७० मिलियनमा बिक्री गरिएको थियो। –एजेन्सी