काठमाण्डौ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने घोषणा गरेका छन् ।
शुक्रबार मलेशियाको सारवाक राज्यको कुचिङमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै हमिदीले सबै स्रोत मुलुकका कामदार लिन आजैदेखि बन्द गर्ने निर्णय सार्वजनिक गरेका मलेशियाको संचारमाध्यमलाई उद्धृत गर्दै अन्तराष्टिय न्यूज एजेन्सीहरुले जनाएका छन् । मलेशिया सरकारले आगामी दिनमा आवश्यकताको आधारमा मात्रै विदेशी कामदार लिने नीति लिएको समेत उनले बताएका छन् । उनका अनुसार यो निर्णय नेपाली कामदारमा मात्र लागू हुनेछैन । बंगलादेशी कामदारको हकमा पनि लागू हुने बताइएको छ ।
उपप्रधानमन्त्रीले यस्तो निर्णय भएको भने पनि मलेसियाका श्रममन्त्रीले बिहीबार मात्र बंगलादेशको ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेका थिए । विदेशी कामदार नलिने भन्ने निर्णय कतै नेपाली कामदारप्रति मात्र लक्षित त होइन भन्ने आशंका समेत उब्जिएको छ ।
गृहमन्त्री समेत रहेका हमिदीले स्वदेशी कम्पनी तथा उद्योगका संचालकलाई सकेसम्म स्थानीय कामदार लिन समेत आह्वान गरेका छन् ।
उपप्रम हमिदीले बिदेशी कामदार लिने प्रक्रिया स्थगन गरी लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर केन्द्रीत रहेको उनको भनाई थियो । ‘अहिले मलेशियामै रहेका, तर वर्क परमिट सकिइसकेका तथा आधिकारिक कागजात नभएका कामदारहरुका लागि अब मलेशियामा कुनै ठाउँ छैन ।’–हमिदीले भनेका छन् ।
पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने र अबैधानिक बसेकाहरुलाई पक्राउ गरी उनीहरुकै देश पठाउने नीति समेत सरकारको रहेको उनले खुलाएका छन् ।
स्मरण रहोस्, वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको मुख्य आकर्षण तथा गन्तव्य मलेशिया पनि रहेको थियो । मलेशियन सरकारको यो निर्णयले नेपाली कामदारलाई ठूलो प्रभाव पार्ने आँकलन गरिएको छ ।
18 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago