काठमाण्डौ । बाबा रामदेवले सुरु गरेको पतञ्जली आयुर्वेद लिमीटेडका उत्पादनहरु भारतमा मात्र होइन विश्वका धेरै मुुलुकमा लोकप्रिय बन्दै गएका छन् । नेपालमा समेत पछिल्लो समय शहरैपिच्छे पतञ्जलीका उत्पादन मात्र पाइने पसल खुल्न थालिसकेका छन् । आफ्नो उत्पादनको यही लोकप्रियतालाई मध्यनजर गरी बाबा रामदेवले मल्टिनेशन कम्पनीहरुलाई समेत चुनौति दिने गरी आफ्नो कम्पनीलाई अगाडि बढाउने विशेष योजना बनाएका छन् । 

भारतीय संचारमाध्यमहरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा मात्रै १० हजार करोड भारतीय रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्त गर्नका लागि कम्पनीले यही वर्षभित्र ११५० करोड भारु लगानी थप्ने छ । 

यो कम्पनीले अनलाइन रिटेल मार्केटमा आफूलाई उतार्ने तयारी गरिरहेको छ भने भारत तथा नेपालमा आफ्ना बिक्री केन्द्रहरुलाई समेत व्यापक रुपमा बिस्तार गर्ने योजनामा छ । 

भारतभरि गाईको दूधका लागि एटीएम अर्थात एनी टाइम मिल्क सेन्टरहरु समेत खोल्ने रामदेवको योजना छ । 

पतञ्जलीका संस्थापक बाबा रामदेवका अनुसार बितेको ४ वर्षको अवधिमा कम्पनीको ग्रोथ दर(उन्नति दर) ११०० प्रतिशत रहेको छ । विश्वका धेरै मुलुक आर्थिक मन्दीबाट ग्रस्त भइरहेको समयमा समेत बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमीटेडले गत वर्ष १५० प्रतिशतको ग्रोथ हासिल गरेको थियो । गत वर्ष यो कम्पनीको आर्थिक कारोबार ५ हजार करोड भारु थियो । योमध्ये घिउको टर्नओभर मात्र १३०८ करोड भारु थियो । 

रामदेवका अनुसार कम्पनीको उत्पादनप्रति सर्वत्र विश्वास बढिरहेकै बेला मल्टिनेशन कम्पनीमा काम गरिरहेका कतिपय व्यवसायिक कर्मचारीहरु समेत पतञ्जलीमा प्रवेश गरेका छन् । उनका अनुसार पछिल्लो केही दिनमा मल्टिनेशन कम्पनीमा आबद्ध केही व्यक्तिहरु पतञ्जलीमा प्रवेश गरिसकेका छन् । यीमध्ये मार्केटिङका मान्छे धेरै छन् । रामदेवका अनुसार कारोबारको वृद्धिसँगै आगामी दिनमा लाखौंलाई रोजगारी दिने तयारी समेत भइरहेको छ । उनले आगामी केही वर्षभित्रै यो कम्पनीले ५ लाख नयाँ जनशक्तिलाई रोजगारी दिने दाबी गरे । 

रामदेवका अनुसार हाल यो कम्पनीमा १ लाखले रोजगारी पाइरहेका छन् । यो कम्पनीले सोझै किसानसँग प्रति दिन १ हजार टन भन्दा बढी कृषिजन्य उत्पादनहरु खरीद गर्छ । प्रति दिन १० हजार टन कृषिजन्य उत्पादन खरीद गर्ने कम्पनीको लक्ष्य रहेको छ । आफ्ना उत्पादनका गुणस्तर नघटोस् भनेर पतञ्जलीले विशेष प्रकारको रिसर्च सेन्टर समेत निर्माण गरिसकेको छ ।

यसरी बढ्यो कारोबार
स्वामी रामदेवले कम्पनीले गएको ४ वर्षको अवधिमा ११०० प्रतिशतको उन्नति हासिल गरेको बताए । यो कसरी संभव भयो होला त ? पतञ्जलीले सन् २०११–१२ मा ४४६ करोड भारु, २०१२–१३ मा ८५० करोड भारु, २०१३–१४ मा १२०० करोड भारु, २०१४–१५ मा २००६ करोड भारु बराबरको कारोबार गरेको थियो । गएको आर्थिक वर्ष कम्पनीले १ सय ५० प्रतिशतको वृद्धि हासिल गरी कुल ५ हजार करोड भारुको कारोबार लक्ष्य हासिल गरेको थियो ।