काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) ले अवितरित हकप्रद सेयर यही फागुन २८ गतेबाट लिलामी प्रक्रियामार्फत बेच्ने भएको छ। 

कम्पनीले गत वर्ष असार २३ गतेदेखि भदौ ९ गतेसम्म निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेको कुल १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण, कानुनबमोजिम योग्य संस्था तथा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले काठमाण्डौको सुन्धारास्थित सिभिल क्यापिट मार्केट लिमिटेड, मल्टीपर्पस फिनान्सको सप्तरीको राजविराजस्थित केन्द्रीय कार्यालय तथा सिभिल बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत), धनगढी, बिर्तामोड, जनकपुर, हेटौँडा, नारायणगढ र घोराही (दाङ) मा आवेदन दिन सक्नेछन्। 

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो चैत १३ गते बैंकिङ समयसम्म तोकिएको छ।