काठमाण्डौ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको अवस्था यति नाजुक बनेको छ कि महँगीले हैरान भएका जनता सडकमा उत्रिएर राष्ट्रपति भवन कब्जा गरेका छन्। 

यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षे आफ्नो निवासबाट भागेका छन्। आखिर सुनको लंका यस्तो गरिबको स्तरमा कसरी पुग्यो ? यस्ता छन् कारण–

महिनौँदेखि अत्यावश्यक वस्तुको अभाव

श्रीलंकाका जनताको कठिन दिन धेरै अघि सुरु भएको थियो तर अहिले उनीहरुको आक्रोश चरम सीमामा पुगेको छ। देशमा खाद्यपदार्थदेखि लिएर पेट्रोल–डिजेलसम्म अत्यावश्यक वस्तुको अभाव भइरहेका बेला केही महिनादेखि जनताले यस्तो अवस्था देखिरहेका छन्। सरकारले देशमा आर्थिक संकटकाल लगाउनुका साथै अत्यावश्यक सबै सामान जनतामाझ पुर्याउन सेना परिचालन गर्नुपरेको थियो।

मानिस कृषिबाट टाढा

श्रीलंकामा संकटको बादल आउनुको मुख्य कारण सरकारको निर्णय हो। जसमा सरकारले देशलाई अर्गानिक खेतीको हब बनाउन एकै झट्कामा रासायनिक मलमा पूर्ण प्रतिबन्ध लगाएको थियो। यो अचानकको परिवर्तनले श्रीलंका कृषि संकटलाई ध्वस्त बनायो। सरकारको यो निर्णयका कारण श्रीलंकाको कृषि उत्पादन आधामा झरेको एक अनुमान छ। अहिले श्रीलंकामा चामल र चिनीको पनि अभाव भएको अवस्था छ। यी सबैभन्दा माथि खाद्यान्नको भण्डारणले समस्यालाई झनझन् बढाउँदै लगेको छ। खेतीपातीबाट ठूलो जनसंख्या टाढा रहेको छ। 

कोभिडले पर्यटन क्षेत्रमा व्यापक असर

कृषिपछि पर्यटन श्रीलंकाको अर्थतन्त्रका लागि ठूलो र महत्वपूर्ण क्षेत्र हो। त्यहाँको सरकारी तथ्यांकअनुसार श्रीलंकाको जीडीपीमा पर्यटनले १० प्रतिशत योगदान पुर्याउँछ। पछिल्लो दुई वर्षमा कोरोना महामारीका कारण यो क्षेत्र धरासायी बनेको छ। श्रीलंकामा भारत, बेलायत र रुसबाट सबैभन्दा बढी पर्यटक भित्रिन्छन्। महामारीका कारण लगाइएको प्रतिबन्धका कारण पर्यटक आगमन रोकिएको छ। बिग्रँदै गएको अवस्थामा धेरै देशले आफ्ना नागरिकलाई श्रीलंका यात्रा नगर्न सल्लाह दिन थालेका छन्। 

यसैबीच रुस–युक्रेन युद्धका कारण रुस र युरोपबाट पर्यटकको आगमनमा पनि कमी आएको छ। मुद्रा विनिमयको समस्यालाई उद्धृत गर्दै क्यानडाले हालै यस्तो सल्लाह जारी गरेको थियो। जसले श्रीलंकाको आम्दानीमा नराम्रो असर पारेको थियो।

चिनियाँ ऋणको बोझ

श्रीलंकामा चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ। त्यस्तै, भारत र जापानजस्ता देशबाहेक आईएमएफजस्ता संस्थाले पनि ऋण दिने गरेका छन्। सरकारी तथ्यांकअनुसार अप्रिल २०२१ सम्म श्रीलंकामा ३५ अर्ब डलरको कुल विदेशी ऋण थियो। आर्थिक संकटले घेरिएको यो सानो देश यति ठूलो विदेशी ऋणको ब्याज र किस्ता तिर्ने बोझले पनि दबिएको छ।

विदेशी मुद्रा रिजर्भ र स्वदेशी मुद्राको मूल्य घट्दै

श्रीलंकाले विदेशी मुद्रा सञ्चितिमा पनि धेरै समस्याको सामना गरिरहेको छ। तीन वर्षअघि मात्रै श्रीलंकासँग ७.५ बिलियन डलरको विदेशी मुद्रा सञ्चिति थियो। त्यही क्रममा नयाँ सरकार बन्यो। पछि यो तीव्र रुपमा घट्यो र जुलाई २०२१  मा यो केवल २.८ बिलियन थियो। गत वर्षको नोभेम्बरसम्ममा यो १.५८ बिलियन डलरको स्तरमा झरेको थियो। 

श्रीलंकासँग विदेशी ऋणको किस्ता तिर्नका लागि विदेशी मुद्रा सञ्चिति पनि बाँकी थिएन। अवस्था यति बिग्रियो कि सरकारले भर्खरै जनतालाई विदेशी मुद्रा साथमा राख्ने सीमा तोक्नुपर्ने भयो। विदेशी मुद्रा सञ्चितिमा आएको कमीका कारण श्रीलंकाली रुपैयाँको भाउ पनि घटेको छ। जसका कारण महँगीले भयावह रुप लियो। पेट्रोल र डिजेलको बढ्दो मूल्यसँगै यसले मुद्रास्फीतिलाई चरम सीमामा पुर्याउने काम गरेको छ। –एजेन्सी