काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको वैशाख महिनामा महँगी घटेको छ। 

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा चालु आर्थिक वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशतमा सीमित बनेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो। यो हिसाबले मुद्रास्फीति २.१८ प्रतिशतले घटेको देखिएको छ। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ। २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा चालु खाता रु. २४७ अर्ब ८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर २ अर्ब ११ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ७ अर्ब ७५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ।

चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ८ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो। 

चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ५४ अर्ब ११ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो। 

चालु आर्थिक वर्षको वैशाखसम्ममा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले बढेर रु. ११ खर्ब ४५ अर्ब ६३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु. ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो।