काठमाण्डौ । पछिल्लो समय देशमा महँगी ह्वात्तै बढेको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको यही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशतमा सीमित थियो। यो हिसाबले मुद्रास्फीति ४.११ प्रतिशतले बढेको छ। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ।

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ। यसका साथै गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ।

समीक्षा अवधिसम्म व्यापार घाटा पनि ह्वात्तै बढेको छ। फागुनसम्म कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले बढेर रु. ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्ष ८ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४७ अर्ब ७५ करोड पुगेको छ। गत वर्ष यही महिना यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो। 

समीक्षा अवधिमा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा चालु खाता रु. ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. १ खर्ब ५१ अर्ब ४२ करोडले घाटा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर ३ अर्ब ८८ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु. ६८ अर्ब ३० करोडले बचतमा रहेको थियो। 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १.७ प्रतिशतले कमी आई रु. ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। 

यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ५ प्रतिशतले बढेको थियो।