काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । विगत एक महिनाभित्रको यो तेश्रो मूल्यवृद्धि हो ।

निर्वाचनको समयमा निगमले मूल्यवृद्धि गर्दा त्यसले आफूहरुको मत प्रभावित हुनसक्ने भएकोले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दवाबमा फिर्ता गर्न लगाइएको थियो । तर, निर्वाचनमा कांग्रेसले हार व्यहोरेपछि बाम गठबन्धनको नेतृत्वको सरकार गठन नहुँदाको अवस्थामा सरकारले समेत निगमलाई हरेक १५ दिनमा मूल्यवृद्धिको अनुमति दिइरहेको छ । कामचलाउ सरकार सर्वसाधारणप्रति उत्तरदायी नबन्दा पेट्रोलियम मूल्यवृद्धिले ढाड सेकिने अवस्था सिर्जना भएको टिप्पणी गर्न थालिएको छ ।  

सोमबार दिउँसो बसेको नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपीजी ग्यास र हवाई इनधनको मूल्य वृद्धिको निर्णय गरेको हो । 

यसअघि पुस ४ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । निगमले इण्डियन आयल कर्पोरेसनबाटै बढेर मूल्यसूचि आएकोले बाध्य भएर पेट्रोलियम मूल्यृवृिद्ध गर्नुपरेको दाबी गरेको छ। 

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढेको छ । 

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ ७९।७९ रुपैयाँ पुुगेको छ । यस्तै, खाना पकाउने ग्यासको नयाँ मूल्य १ हजार ३ सय ७५ रुपैयाँ पुुगेको छ । हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ भएको छ । 

यस्तै, अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिब्यारेलमा ५० डलर बढेको छ । अब यस्तो इन्धनको प्रति ब्यारेल मूल्य ९ सय डलर पुुगेको छ । 

निगमका अनुसार नयाँ मूल्यसूचि सोमबार मध्यरातिदेखि लागूू हुनेछ । मूल्यवृद्धि पछि पनि निगम घाटामै रहने दाबी गरिएको छ । तर, सो घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।