काठमाण्डौ । महङ्गीको बढ्दो पारो चालु आर्थिक वर्षको चौथो महिनामा केही कम भएको छ । 

नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको चालु आबका प्रथम ४ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा रिपोर्टमा यस्तो देखिएको हो । 
पहिलो तीन महिनामा औसत मुद्रास्फिति ६.४४ प्रतिशत रहेकोमा घटेर चार महिनामा ६.२७ प्रतिशतमा सीमित भएको हो । 

तेश्रोको तुलनामा चौथो महिनामा महंगीमा केही राहात भए पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा भने मुद्रास्फिति उच्च हो । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेकोमा भारतमा यस्तो (नोभेम्बर महिनाको) मुद्रास्फीति ५.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.१५ प्रतिशत र २.३३ प्रतिशत रहेको थियो ।