काठमाण्डौ । ‘राष्ट्रको संचार’ मूल नारासहित लाखौं ग्राहकमाझ पुगिरहेको नेपाल टेलिकमले २०७२ बैशाख १२ को विनाशकारी महाभूकम्पको सम्झनामा आउँदो बैशाख १२ गते टुँडीखेलमा एनटी सम्बोधन कार्यक्रम आयोजना गर्ने भएको छ । 

टेलिकम प्रवक्ता प्रतिभा वैद्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै महाभूकम्पमा परी दिवंगत भएकाहरुको स्मरण गर्दै चिर शान्तिको कामना गर्न २०७३ बैशाख १२ गते, आइतवार टुँडीखेलमा दीप प्रज्वलन तथा मधुर सांगीतिक कार्यक्रम आयोजना हुने जानकारी दिएकी हुन् । 

सो कार्यक्रममा कुटुम्ब, सुगम पोखरेल र श्रेया सोताङलगायतका लोकप्रिय कलाकारहरुको मधुर सांगीतिक प्रस्तुती रहने बताइएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा विभिन्न प्रतिष्ठित ब्यक्तिहरुको समेत सहभागिता रहने बताइएको छ । अपरान्ह ५ बजे शुरु हुने सो कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको समेत वैद्यले जानकारी दिइन ।

‘नेपाल टेलिकमले नेपाली जनताका सुखदुःखलाई निरन्तर सम्बोधन गरिरहने छ ।’ विज्ञप्तिमा भनिएको छ–‘यही अर्थमा कार्यक्रमको नाम ‘एनटी सम्बोधन’ राखिएको हो ।’ 

वैद्यका अनुसार नेपाल टेलिकमले गत बर्षको महाविनाशकारी भूकम्पको समयमा ६ दिनसम्म निःशुल्क कल, भ्वाइस तथा डाटा सेवा उपलब्ध गराएको थियो । कम्पनीले बैशाख १२ गते दिनको १२ बजेदेखि बैशाख १७ गते रातको १२ बजेसम्म रु. १ अर्ब ४६ करोड बराबरको जिएसएम तथा सीडीएमए नेटवर्कबाट भएका सम्पूर्ण कलहरु(अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय) एवम् एसएमएस तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको थियो । साथै पिएसटिएन सेवामा बैशाख महिनाको न्यूनतम महसुलमा थप १०० कल निःशुल्क गरिएको थियो । भूकम्पबाट विस्थापित भई शिविरहरुमा वसेका पीडितहरुको सुविधाका लागि कम्पनीले निःशुल्क वाइफाई हटस्पटको व्यवस्था समेत गरेको थियो ।

भूकम्पपीडित तथा उनीहरुको व्यवस्थापनका लागि नेपाल टेलिकमले कम्पनीको तर्फबाट रु.२५ करोड, कर्मचारीहरुको तर्फबाट रु. २ करोड ७५ हजार र सञ्चालक समितिका पदाधिकारीहरुको तर्फबाट  रु. ८१ हजार ६ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको समेत प्रवक्ता वैद्यले जानकारी दिएकी छिन् ।