काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा महालक्ष्मी विकास बैंक लिमिटेडले १५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४९.५० प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १० करोड ६८ लाख रुपैयाँमा सीमित थियो। 

बैंकको वितरणयोग्य मुनाफा ९ करोड ९१ लाख रुपैयाँले ऋणात्मक भएको छ।

प्रथम त्रैमासमा बैंकको सञ्चालन मुनाफा पनि ५१.८० प्रतिशतले बढेर २२ करोड ८२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १५ करोड ३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ४२ करोड ५७ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी ४० करोड २० रुपैयाँ रहेको थियो।

यो अवधिमा बैंकले ३५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार ९.२२ प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार १ अर्ब ५३ करोड रुपैयाँमा सीमित थियो। 

बैंकको खराब कर्जाको दर (एनपीएल) २.८५ प्रतिशतबाट घटेर २.३६ प्रतिशतमा झरेको छ। आधार दर पनि ११.४७ प्रतिशतबाट घटेर ८.९४ प्रतिशतमा झरेको छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १३.९२ रुपैयाँबाट बढेर २०.८० रुपैयाँ भएको छ। पीई रेसियो १०.८६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६२.२८ रुपैयाँ रहेको छ।