काठमाण्डौ । महालक्ष्मी बैंकले निकै लापरबाहीपूर्ण तरिकाले ७ करोड ४२ लाख रुपैयाँ ऋण प्रवाह गरेको खुल्न आएको छ ।

शाखादेखि केन्द्रीय कार्यालयमा कार्यरत उच्च व्यवस्थापनका कर्मचारी र संचालक समितिका अधिकारीहरु समेतको मिलेमतोमा अनियमित तवरले थोरै सुन राखेर ७ करोड ४२ लाख रुपैयाँ ऋण प्रवाह भएको खुलेको हो । 

बैंकमा भएको यो फ्रडको रहस्य खुलेपछि आन्तरिक रुपमा ऋण उठाउने प्रयास गरिएको थियो । तर, सो प्रयास सफल नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग मागिएको थियो । सीआइबीले सो प्रकरणको अनुसन्धान गरी पहिलो र दोश्रो चरणमा विभिन्न समयमा निकै कम सुन धितो राखी कर्जा प्रवाह गर्ने महालक्ष्मी बैंकको कुमारीपाटीस्थित शाखामा विभिन्न समय प्रबन्धक बनेका तीनजनासहितलाई पक्राउ गरेको हो ।  

बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह भएको सीआइबीको अनुसन्धानबाट पुष्टि भएको छ । रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक भए पनि मुख्य कार्यालयदेखि शाखा प्रबन्धकहरुसम्मको मिलेमतोमा अनियमित तवरले कर्जा प्रवाह भएको भेटिएको सीआइबीले जनाएको छ । 

प्रहरीले आइतबार सो प्रकरणमा संलग्नताको आरोपमा विभिन्न समयमा कुमारीपाटीको महालक्ष्मी बैंकको शाखा प्रबन्धक रहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर ९ घर भई चन्द्रगिरी ११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर ११ बस्ने ३७ वर्षीय अनिससिंह सिंजापती रहेका छन् । 

प्रहरीले मंसिर २६ गते बैंकको शाखा र मुख्य कार्यालयका जिम्मेवार कर्मचारीलाई प्रभाव र प्रलोभनमा पारेर कम सुन धितो राखी रकम निकाल्ने ऋणिहरु क्रमशः खोटाङको साबिक रतन्छा गाविस वडानम्बर १(हाल साकेला गाउँपालिका वडानम्बर २) घर भई हाल ललितपुर १४ बस्ने ४० वर्षीय देवानन्द राई र पूर्ण राई तथा धनकुटा साँगुरीगढी गाउँपालिका वडानम्बर ४ घर भई हाल ललितपुर १४ बस्ने २५ वर्षीय सन्दीप लिम्बूलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सन्दीप लिम्बू राईद्वयको सुन पसलका कामदार हुन् । 

राईद्वयले २०७४ सालयता पटक पटक महालक्ष्मी विकास बैंकको सो शाखाबाट कम परिमाणको सुन धितो राखी बढी कर्जा लिइरहेका थिए । बैंकका कर्मचारीहरुले पनि उनीहरुलाई लगातार साथ दिंदै आएका थिए ।  

लहरो तान्दा पहरो गर्जिने संभावना !
सीआइबीका एक अनुसन्धान अधिकृतका अनुसार महालक्ष्मी विकास बैंकको यो फ्रड प्रकरणमा केन्द्रीय कार्यालयका अधिकारीदेखि लिएर संचालक समितिका सदस्यहरुको समेत मिलेमतो हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

संचालक समितिका मानिसदेखि बैंकको केन्द्रीय कार्यालयका जिम्मेवार अधिकारीसँगको मिलेमतोबिना शाखाबाट मात्रै थोरै परिमाणमा सुन राखेर धितोले धान्नेभन्दा तीनगुणा बढी ऋण दिन संभव नै नदेखिने ती अधिकृत बताउँछन् । 

अनुसन्धान जारी रहेकोले यो प्रकरणमा दोषी देखिने सबैलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए ।