काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको छ।

नेपालको जीवन बीमा बजारमा २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको सबैभन्दा कान्छो कम्पनी हो। १९ औँ कम्पनीका रूपमा काम महालक्ष्मी लाइफले ९ वटा पुराना स्थापित कम्पनी र ९ वटा नयाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैँमा ठूलो चुनौती रहेको कम्पनीले जनाएको छ। 

अर्कोतर्फ कोभिड-१९को कारण लामो समय सम्म नसोचेको कठिनाइ भोग्नु परेको कम्पनीले जनाएको छ। त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, सञ्चालक समिति, कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा/उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, ९ वटा प्रोडक्ट लन्च, रु. १६५ करोड बीमा शुल्क संकलन र रु. २५६ करोड लगानी गर्न सफल भएको छ।

स्थापनाको एक वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्यअनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसके पनि कम्पनीले आ.व. २०७५/७६को पोलिसी बोनस न्यूनतम रु. ५० ल्याई नयाँ कम्पनीहरूमध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल भएको कम्पनीले उल्लेख गरेको छ। नेपालमा बीमा कारोबारप्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनीले मितव्ययी तरिकाले ग्रामीण क्षेत्रमा बीमाको पहुँच अझै विस्तार गर्ने, गुणात्मक कारोवारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्याउने लक्ष्य लिएको छ। 

कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नयाँ मनी ब्याक बीमा योजना ‘महालक्ष्मी धनधान्य’ पोलिसी सञ्चालनमा ल्याएको छ। आ.व. २०७६/७७ को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृतिपछि रु. ६० करोडको आईपीओ जारी गर्ने गरी प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ।