काठमाण्डौ । महालक्ष्मी विकास बैंकको खूद नाफा ४४.२८ प्रतिशतले बढेको छ । 

राष्ट्रिय स्तरको यो विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा ४४.२८ प्रतिशतको बढोत्तरी गरेको हो । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले १५ करोड ९७ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्ष बढेर २३ करोड ५ लाख माथि पुगेको हो । 

यस्तै, अघिल्लो आबको पहिलो त्रैमाससम्म २२ करोड ८२ लाखमा सीमित संचालन मुनाफा बढेर २४ करोड ६८ लाखको उचाई चुमेको देखिएको छ । 

अघिल्लो वर्ष ४२ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको खूद ब्याज आम्दानी बढेर यो वर्ष ४६ करोड ३७ लाखको उचाईमा पुगेको छ । 

नाफामा भएको निकै राम्रो बढोत्तरीसँगै यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा पनि सुधार भएको छ । अघिल्लो वर्ष २०.८० रुपैयाँमा सीमित इपीएस बढेर यो वर्ष २७.५९ रुपैयाँको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ३९ अर्ब ७८ करोड बढी निक्षेप संकलन गरी ३१ अर्ब ८६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ३८ अर्ब ६० करोड बढी निक्षेप संकलन गरी ३० अर्ब १० करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष २.३६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.०८ रुपैयाँ पुगेको छ भने कस्ट अफ फण्ड थोरै घटी ६.०७ प्रतिशत, सीडी रेसियो ८८.३६ प्रतिशत, बेस रेट ८.०५ प्रतिशत, पीई रेसियो २१.१३ गुणा, प्रतिसेयर नेटवर्थ १७१.६५ रुपैयाँ र तरलता अनुपात २६ प्रतिशत कायम भएको छ ।