काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपमा गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोकमा रहेको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्रछात्रालाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीका लागि आवश्यक उपकरण सहयोगस्वरुप प्रदान गरेको छ। विद्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो। 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुका साथै यस किसिमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिकस्तरको विकासमा टेवा पुग्ने बताए। 

बालबालिका राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुवेदीले बालबालिकाको शैक्षिक अभिवृद्घिमा बैंक सधैँ कटिबद्घ रहेको जानकारी दिए। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तबरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।