काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ। 

काठमाण्डौको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालय आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखामार्फत सेवा प्राप्त गर्न सक्नेछन्। 

अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन्। बैंकले हालसम्म २८ वटा रेमिट कम्पनीसँग सम्झौता गरी ग्राहकलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ। 

ग्राहकलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले यसका साथसाथै रेमिट्यान्सबाट आएको रकमलाई थप १ प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना सञ्चालनमा ल्याएको छ। हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तबरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।